काठमाडौं । भक्तपुरमा बाबुछोरा हत्या प्रकरणमा जेठा छोराले प्रहरीसामु आत्मसमर्पण गरेका छन् ।
जेठो छोरा मिलन आचार्यले मङ्गलबार महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत फेला परेका थिए ।
घटनापछि मिलन फरार थिए । आत्मसमर्पण गरेका मिलनले प्रेमिकासँगको तनावका कारण हत्या हुन पुगेको प्रहरीमा बताएका छन् । मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइको हत्या गरेको बयान दिएका छन् ।
घटनापछि उनी इनड्राइभबाट मोटरसाइकल मगाएर सातदोबाटोसम्म पुगेका थिए । त्यहाँबाट फेरि अर्को इनड्राइभ गरेर कलङ्की पुगेको देखिन्छ , त्यसपछि मोबाइलको सिम फ्याँकेका छन् ।
त्यसपछि उनले महारनगञ्ज प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेका हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।