बीमीतलाई दाबी भुक्तानीको जानकारी दिन बीमा प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमाकर्ताहरूलाई बीमा प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउन निर्देशन जारी गरेको छ। प्राधिकरणको २०८१ पुस ४ गतेको निर्णयअनुसार बीमाकर्ताहरूले बीमीत तथा हकवालाहरूसँग दाबी भुक्तानी सम्बन्धी सबै जानकारी पारदर्शी रूपमा प्रदान गर्नुपर्ने उल्लेख छ।

निर्देशनअनुसार बीमाकर्ताहरूले निम्न कार्य गर्नुपर्नेछ:

१. दावी दर्ता भएपश्चात बीमीतलाई जानकारी दिनुपर्ने:

बीमा दावी निवेदन प्राप्त भएपछि तुरुन्तै दावी दर्ता गरी बीमीतलाई एसएमएसमार्फत जानकारी दिनुपर्नेछ। यसले बीमितलाई आफ्नो दावीको प्रगतिबारे तत्काल जानकारी प्राप्त गर्न सहयोग गर्नेछ।

२. सर्भेयर खटाउँदा बीमीतलाई सूचना दिने:

निर्जीवन बीमाको हकमा क्षति मुल्याङ्कन गर्न सर्भेयर खटाउँदा यसको जानकारी एसएमएसमार्फत बीमीतलाई अनिवार्य रूपमा दिनुपर्नेछ। साथै, सर्भे प्रतिवेदन प्राप्त भएपछि त्यसको पनि जानकारी बीमीतलाई डिजिटल माध्यमबाट दिनुपर्नेछ।

३. भुक्तानी प्रक्रिया डिजिटल माध्यमबाट अनिवार्य गर्नुपर्ने:

बीमा दावीको दायित्व सुनिश्चित भए पश्चात भुक्तानी रकम बीमित वा हकवालाको बैंक खातामा डिजिटल माध्यम प्रयोग गरी अनिवार्य रूपमा दाखिला गर्नुपर्नेछ। यसले भुक्तानी प्रक्रियामा सहजता र पारदर्शिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

४. जीवन बीमामा भुक्तानी रकम अन्यत्र समायोजन गर्न नपाइने:

जीवन बीमाको हकमा बीमाकर्ताले भुक्तानी दिनुपर्ने रकम बीमित वा हकवालाको बैंक खातामा दाखिला नगरीकन कुनै अन्य बीमालेख जारी गरी रकम समायोजन गर्न पाइने छैन।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार