राज्यको संरक्षणमा सिमेन्ट उद्योगको कालोबजारी: अध्यक्ष सिंह

काठमाडौं । राज्यको संरक्षणमा सिमेन्ट उद्योगहरुले कालोबजारी गरिरहेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आरोप लगाएका छन् । सिमेन्ट, डण्डी लगायतका निर्माण सामाग्री उत्पादनसँग सम्बन्धित इन्धन सहित कुनै पनि कच्चा मूल्य वृद्धि नहुँदा पनि राज्यको संरक्षणमा उद्योगीहरुले मूल्य वृद्धि गरेको अध्यक्ष सिंहले बताएका हुन् ।

‘गत असारमा देशैभर उद्योगीले प्रति बोरा सिमेन्ट ४०० देखि ५०० रुपैयाँको दर उपलब्ध गराएका थिए । विगत केही महिनादेखि सिमेन्ट प्रति बोरा २०० रुपैयाँभन्दा बढी र डण्डीमा प्रति किलोग्राम १५ रुपैयाँ बढाइएको छ । उद्योगीले निर्माण सामाग्रीमा कार्टेलिङ गर्दा सिमेन्ट प्रति बोरा ६५० रुपैयाँदेखि ७२० रुपैयाँमा खरिद गर्नु परेको छ । राज्यबाट ठेक्काको भुक्तानी नभएका निर्माण व्यवसायी उद्योगीहरुको कार्टेलिङका कारण थप मारमा परेका छन्,’ बिहीबारको पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले भने ।

निर्माणको सिजनमा सिमित सिमेन्ट तथा डण्डी उद्योगीहरुले मूल्यवृद्धिसँगै कार्टेलिङ उ्रत्पादनमा समेत नियोजित तरिकाले कटौती गरेकाले भुक्तानी अभाव लगायतका कारण सकसमा रहेका निर्माण उद्योग थप मारमा परेकाले उक्त मूल्यवृद्धि खारिज गरिनुपर्ने निर्माण व्यवसायीहरुको माग छ ।

निर्माण व्यवसायीलाई भुक्तानी गर्ने सामथ्र्यता सरकारसँग नहुँदा यस वर्ष विगतको भन्दा कम पुँजीगत खर्च हुने उनले दाबी गरे । ‘सरकारले विगतको बाँकी भुक्तानी चालु आवको विनियोजित बजेटबाट गरिरहेको छ । चालु आवमा विनियोजित बजेट भुक्तानी गर्न सरकारसँग स्रोतको अभाव छ,’ उनले भने यस्तोमा विकासका कार्यले गति लिन नसक्ने उनको भनाइ छ ।

सरकारले हालसम्म २० अर्ब रुपैयाँ भुक्तानी दिएको छ । तर निर्माण व्यवसायीले अझै ४० अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको उनले जानकारी दिए ।

गत वर्ष सडक विभागले निर्माण व्यवसायीलाई ३ अर्ब ८७ करोड रुपैयाँ भुक्तानी दिन बाँकी थियो । हालसम्म विभागले २ अर्ब १० करोड रुपैयाँ मात्र भुक्तानी दिएको छ ।

‘निर्माण व्यवसायीले अझै १ अर्ब ७७ करोड रुपैयाँ पाउन बाँकी छ,’ उनले भने, ‘यो वर्ष गरेको थप कामबाट अर्को ७ अर्ब रुपैयाँ भुक्तानी बाँकी छ।’

सरकारले भुक्तानी दिन नसक्ने भएकाले ३२० आयोजना मध्ये चालु आवमा ८० आयोजनालाई मात्र निरन्तरता दिएको छ । निर्माण प्रक्रियामा गएका बाँकी २४० आयोजनामा बजेट नहुँदा निर्माण व्यवसायी थप मारमा गरेको उनको भनाइ छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार