काठमाडौं । साताको अन्तिम दिने बिहीबार शेयर बजार सामान्य अंकले बढेको छ ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.५५ अंकले घटेर ४४३.५६ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स ०.६३ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१५ अंकले बढेको छ ।
बिहीबार ३१५ वटा कम्पनीको १ करोड ८६ हजार ७०५ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार पुगेको छ । जुन बुधबारको तुलनामा १ अर्ब ५८ लाख ३७ हजारले बढी हो । बुधबार ३०५ वटा कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ३ अर्ब ५९ करोड ७४ लाख ४५ हजार पुगेको थियो ।
बिहीबार १५६ वटा कम्पनीको शेयर मूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
बिहीबार न्यादी हाइड्रोपावर,सामुदायिक लघुवित्त वित्तीय संस्था, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक र सुपर मार्दी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
बिहीबार ८ वटा समूह परिसूचक बढ्दा बाँकी ५ वटा घटेका छन् । विकास बैंक १२४, वित्त १२, होटल र पर्यटन ४४, जलविद्युत ६४, जीवन बीमा ४६, उत्पादन र प्रशोधन ५४, म्युअुचल फण्ड ०.०६ र निर्जीवन बीमा ९६ अंकले बढ्दा बैकिङ २, लगानी ०.३२, लघुवित्त १० व्यपारा ९३ र अन्य समूह ३६ अंकले घटेको हो ।
बिहीबार सर्वाधिक कारोबार हुने कम्पनीहरुमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, न्यादी हाइड्रोपावर, हिमालयन डिष्ट्रलरी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड रह्यो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ४६ करोड १७ लाख, न्यादी हाइड्रोपावरको २० करोड ७२ लाख, हिमालयन डिष्ट्रलरी लिमिटेडको ११ करोड ८५ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकको ११ करोड ६ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ९ करोड ९३ लाख बराबर कारोबार भयो ।