काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पुँजीको कोषको आकार करिब आधा अर्बले बढेको छ । चालु आर्थिक वर्षको कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुको पुँजी कोषका आकार ७ खर्ब ९३ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४१ अर्ब ९३ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको पुँजी कोषको आकार ७ खर्ब ५१ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको पूँजी कोषमा सुधार आएको कारण यसको आकार समेत वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुमा पूँजीकोषको दबाब रहेको थियो । राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले कुल जोखिम सम्पत्तिको आधारमा प्राथमिक पुँजी कोष ८.५ प्रतिशत हुनुपर्छ ।
गत चैत अन्त्यसम्मको तथ्यांक हेर्दा धेरै वािणज्य बैंकहरु यस्तो सीमा नजिक आइसेका छन् । कर्जा लगानी बढ्दै जाँदा बैंकहरूले राख्नुपर्ने जोखिम भार समेत बढ्दै जान्छ। यसले यो अनुपात समेत घट्दै जाने हुन्छ। त्यसैले यस्तो अनुपात तोकिएको नजिक आएका बैंकहरूले कर्जा लगानी विस्तारमा तीव्रता ल्याउन सक्दैनन्। यसको अनुपात बढाउन बैंकहरूको प्राथमिक पुँजी नै बढ्नुपर्छ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक र विकास बैंकको पूँजी कोषमा सुधार गर्दा समग्रमा बैंकिङ संस्थाहरुको पूँजी कोषको आकार बढेको हो । समीक्षा अवधिमा वित्त कम्पनीहरुको पूँजी कोषको आकार भने घट्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षको कार्तिकसम्म वाणिज्य बैंकको पूँजी कोषको आकार ७ खर्ब ११ अर्ब ८० करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३८ अर्ब १२ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकको पूँजी कोषको आकार ६ खर्ब ७३ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको कार्तिकसम्म विकास बैंकको पूँजी कोषको आकार ६३ अर्ब १९ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४ अर्ब ४५ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकको पूँजी कोषको आकार ५८ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको कार्तिकसम्म वित्त कम्पनीहरुको पूँजी कोषको आकार १८ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६४ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुको पूँजी कोषको आकार १९ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो ।
बैंक तथा वित्तीय संस्थको पुँजी कोष दबाबमा देखिदाँ कर्जा लगानी विस्तार गर्न सक्दैनन् । पुँजीकोषको दबाबमा रहेका बैंकहरुले अविमोच्य असञ्चित अग्राधिकार शेयर जारीमार्फत् समस्या समाधान गर्ने गर्छन् । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन, कर्जा लगानी र कायम गर्नुपर्ने न्यूनतम पूँजीकोषबीचको अन्तरसम्बन्धले व्यावसायिक विस्तारलाई निर्धारण गर्दछ । विद्यमान व्यवस्था अनुसार वाणिज्य बैंकहरुले जोखिम भारित सम्पत्तिको न्यूनतम १० प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने र त्यसमध्ये ६ प्रतिशत प्राथमिक पूँजी अनुपात हुनुपर्ने व्यवस्था छ ।