काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा (एनपीए) अझै थपिने देखिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को पाँचौं वार्षिक साधारण सभामा पौडेलले कर्जा असुलीमा बैंकहरु प्रभावित भएकाले एनपीए थप बढ्ने देखिएको बताएका हुन् ।
अन्य मुलुकको तुलनामा नेपालमा बैंकहरुको ब्याज बाहेक अन्य आम्दानी कम छ । ब्याज आम्दानी बाहेकका सेवा शुल्क अन्य देशका बैंकहरुको तुलनामा नेपालका बैंकहरुको कम छ । यस कारण पनि बैंकहरुको आरओई कम हुँदै गएको देखिन्छ,’ पौडेलले भने।
नेपाली बैंकहरुको कुल आम्दानीको करिब ८० प्रतिशत हिस्सा ब्याजको छ । अन्य मुलुकका ब्याकहरुको ब्याज बाहेक अन्य सेवा सुविधा धेरै हुँदा आम्दानी राम्रो हुने गरेको उनले बताए ।
देशको जीडीपी बढ्नुमा बैंकिङ क्षेत्र र निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको छ । त्यसैले बैंकहरुले अर्थतन्त्रमा पुर्याएको योगदान बिर्सन नहुने उनले बताए ।
‘बैंकबाट कर्जा लिए पनि त्यसलाई तिर्न ऋणी जिम्मेवार बन्नुपर्छ,’ उनले थपे ।