काठमाडौं । नेपालको बैंकिङ क्षेत्र अहिले गम्भीर चुनौतीहरूबाट गुज्रिरहेको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का नवनिर्वाचित अध्यक्ष उपेन्द्र पौडेलले बताएका छन् । सबिफिनको पाँचौं वार्षिक साधारण सभामा पौडेलले बैंकिङ क्षेत्र अहिले गम्भीर चुनौतीहरूबाट गुज्रिरहेको बताएका हुन् ।
‘आर्थिक सुधारका केही सूचकहरू सकारात्मक भए तापनि आन्तरिक अर्थतन्त्र कमजोर छ। लगानीकर्ताहरू र उद्यमीहरू निराश छन्, तरलता पर्याप्त हुँदा पनि कर्जा प्रवाहमा कमी आएको छ। बैंक तथा वित्तीय संस्थाहरूको मुनाफा घटिरहेको, खराव कर्जा बढिरहेको, र दक्ष जनशक्ति पलायन भइरहेको अवस्थामा बैंकिङ क्षेत्रले दीर्घकालीन स्थायित्व गुमाउन सक्ने जोखिम देखिएको छ,’ उनले भने ।
बैंकिङ क्षेत्रलाई सबल र सक्षम बनाउनका लागि नेपाल राष्ट्र बैंकले लिएको पूँजी वृद्धिको नीतिले बैंक तथा वित्तीय संस्थाहरुमा व्यापक पूँजी वृद्धि भएको छ । लगानीकर्ताहरुले बैंकको पूँजी वृद्धि गरिसकेको अवस्थामा हाल संसदमा प्रस्तुत बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकले निजी क्षेत्र र बैंकिङ क्षेत्रमा अन्योलता थपेको उल्लेख गरे। लगानीकर्ताहरूलाई कर्जा लिन निषेध गर्ने प्रावधानले लगानी विस्तारमा अवरोध पुर्याउने चेतावनी दिँदै यस्ता प्रावधानलाई पुनर्विचार गर्न आग्रह गरेका छन्।
यस्ता प्रावधानले समग्र उद्यम/व्यवसाय क्षेत्र नै धराशायी मात्र बन्दैन, लगानीकर्ता र लगानीलाई पलायन बनाउन थप बल पुग्ने उनले दाबी गरे ।