काठमाडौं । नवौँ निर्यात दिवस २०८१ को अवसरमा निर्यातमूलक वस्तुहरुको ब्यापार मेला आयोजना भएको छ । नेपाल निर्यात परिषदले निर्यातमूलक नेपाली वस्तुहरुको ब्यापार मेला आयोजना गरेको हो ।
निर्यात दिवसका अवसरमा आयोजित मेलामा परिषदका अध्यक्ष नरेश लाल श्रेष्ठले हाल वार्षिक डेढ खर्ब हाराहारीको मात्रै निकासी भइरहेको बताउँदै यसलाई कम्तीमा अहिलेकै अवस्थामा अलिकति मेहनत गर्ने हो भने २ खर्बको पु¥याउन सकिने बताए । उनले ब्यापार घाटा बढ्दै जानु मुलुकका लागि राम्रो नभएको भन्दै आयातमुखी नेपाली अर्थतन्त्रलाई निर्यातमुखी र उत्पादनमुखी बनाउन आवश्यक रहेको धारणा राखे ।
चालु आर्थिक वर्षको ५ महिनामा ६ खर्बको वस्तु आयात हुँदा निर्यात जम्मा ७३ अर्बको मात्रै रहेको स्मरण गराउँदै अध्यक्ष श्रेष्ठले आगामी दिनमा निर्यात बढाउन सरकारबाटै सहजीकरण आवश्यक रहेको पनि बताएका छन् ।
कार्यक्रममा ब्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद बिक्रम राणाले उच्च भ्यालू एड हुने र स्वदेशी कच्चा पदार्थ प्रयोग भएका वस्तुको निकासी बढाउने गरि सरकारले योजना बनाइरहेको बताए । उनले सन् २०२६ मा नेपाल कम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा युरोपियन र अमेरिकीसहित धेरै मुलुकले निर्यातमा दिँदै आएको सहुलियत गुम्ने भएकाले त्यसका लागि प्रतिस्पर्धी हुन आजैबाट तयारी थाल्नुपर्ने पनि बताएका छन् ।
‘मुलुक विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा निर्यातमा हामीले पाउँदै आएका विभिन्न सहुलियत गुम्दैछन्, त्यसपछि हामीले बिना कुनै सहुलियत र छुटमा हाम्रा वस्तुहरु विश्व बजारमा पठाउनुपर्ने हुन्छ’ कार्यकारी निर्देशक राणाले भने, ‘सरकारले पनि यसतर्फ सोचेको छ, उद्यमी व्यवसायीहरुले पनि यसतर्फ आजैबाट ध्यान दिनुपर्ने आवश्यकता छ ।’