CLI

नेपाल प्राइभेट इक्विटी एसोसिएसनको तेस्रो एजीएम पुस २६ गते, अध्यक्षको लाइनमा तिमिल्सिना र थापा

काठमाडौं । नेपाल प्राइभेट इक्विटी एसोसिएसनको तेस्रो वार्षिक साधारण सभा आगामी पुस २६ गते हुने भएको छ । सभाले नयाँ सात सदस्सिय सञ्चालक समिति निर्वाचित गर्ने छ । सञ्चालक सदस्यहरु मध्येबाट एक अध्यक्ष निर्वाचित हुनेछन् ।

एसोसिएसनले सर्वसमतिका आधारमा नयाँ सञ्चालक समिति निर्वाचित गर्ने तयारी गरेको छ । हालसम्म अध्यक्षका लागि अवसर इक्विटी फण्ड ध्रुव तिमिल्सिना र ग्लोबल इक्विटी फण्डका डा. मनिष थापाले इच्छा जाहेर गरेका छन् । दुबैले अध्यक्षका लागि आफ्नो दाबी कायम राखे निर्वाचन हुनेछ । तर एसोसिएसन भने दुबैलाई मिलाएर सहमतिका आधारमा सञ्चालक समिति चयन गर्ने गरी अघि बढेको छ । यस्तोमा तिमिल्सिना र थापा मध्ये एकलाई अध्यक्ष र अर्कालाई सञ्चालक सदस्य बनाउने गरी एसोसिएसनले छलफल अघि बढाइरहेको छ ।

तिमिल्सिना र थापा दुबै वर्तमान सञ्चालक समितिका सदस्य हुन् ।

एसोसिएसनको विधान अनुसार सञ्चालक समितिको अध्यक्षमा एक व्यक्ति दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था छ । सोही प्रावधान अनुसार संस्थापक तथा वर्तमान अध्यक्ष सिद्धान्तराज पाण्डे नयाँ सञ्चालक समितिको अध्यक्ष बन्ने छैनन् ।

हाल एसोसिएसनको सञ्चालक सदस्यहरुमा ग्लोबल इक्विटी फण्डका तर्फबाट डा. मनिष थापा, डोल्मा इम्प्याक्ट फण्डका तर्फबाट विद्यावारिधि सिग्देल, अवसर इक्विटी फण्डका तर्फबाट ध्रुव तिमिल्सिना, ट्रू नर्थ एसोसिएट्सका तर्फबाट निधान श्रेष्ठ, आध्यन्त फन्ड म्यानेजमेन्टका तर्फबाट मनोज पौडेल र एनआईएमबी एस क्यापिटलका तर्फबाट सुभाष थापा रहेका छन् ।

विधमान सञ्चालक सदस्यहरुमध्ये अध्यक्ष सिद्धान्तराज पाण्डे, सञ्चालक सदस्यद्वय विद्यावारिधि सिग्देल र मनोज पौडेल बाहिरिने छन् । उनीहरुको स्थानमा नयाँ तीन सञ्चालकलाई साधारण सभाले निर्वाचित गर्नेछ ।

एसोसिएनको सदस्यमा २० संस्थाहरु रहेका छन् ।

 

Leave Your Comment

Related News