कर्णालीमा बैंक तथा वित्तीय संस्थाको ७५ अर्बभन्दा बढी निक्षेप

काठमाडौं । कर्णाली प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाले सङ्कलन गरेको निक्षेप ७५ अर्ब ४५ करोड ९१ लाख रुपियाँ पुगेको छ । नेपाल राष्ट्र बैङ्क सुर्खेत कार्यालयले तयार गरेको आर्थिक वर्ष २०८०-८१ मा आधारित प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनका अनुसार कर्णाली प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाले सङ्कलन गरेको निक्षेप, अघिल्लो वर्षको तुलनामा ११.७९ प्रतिशतले बढेर ७५ अर्ब ४५ करोड ९१ लाख रुपियाँ पुगेको हो । अघिल्लो वर्ष यस्तो निक्षेप ११.८९ प्रतिशतले बढेर ६७ अर्ब ४९ करोड ९२ लाख रुपियाँ पुगेको थियो ।

समीक्षा वर्षमा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा २.२४ प्रतिशतले बढेर ५९ अर्ब २३ करोड ४४ लाख रुपियाँ पुगेको छ । गत वर्षमा यस्तो कर्जा ५.४७ प्रतिशतले बढेर ५७ अर्ब ९३ करोड ६७ लाख पुगेको थियो । त्यस्तै समीक्षा वर्षमा कर्णाली प्रदेशको कर्जा तथा निक्षेप अनुपात ७८.५० प्रतिशत रहेको छ । उक्त अनुपात गत वर्षमा ८५.८३ प्रतिशत रहेको थियो ।

प्रतिवेदन अनुसार बैङ्क तथा वित्तीय संस्थाका ४७५ शाखा छन् । अघिल्लो वर्ष सो प्रदेशमा ४६६ वटा शाखा थिए । समीक्षा वर्षमा नौ वटा शाखा विस्तार भई ४७५ पुगेकोमा वाणिज्य बैङ्क ‘क’ वर्गका २१३ वटा, विकास बैङ्क ‘ख’ वर्गका २१ वटा, वित्त कम्पनी ‘ग’ वर्गका तीन वटा र लघुवित्त वित्तीय संस्था ‘घ’ वर्गका २३८ वटा छन् ।

कर्णाली प्रदेशमा शाखारहित बैङ्किङ, एटिएम, मोबाइल तथा इन्टरनेट बैङ्किङबाट समीक्षा वर्षमा कर्णाली प्रदेशमा २८ वटा शाखारहित बैङ्किङ सेवा रहेका छन् । यस्तो सेवा प्रवाहमा सुर्खेत जिल्ला सबैभन्दा अगाडि छ, जहाँ ११ वटा शाखारहित बैङ्किङ सेवा छ । दैलेखमा तीन वटा, सल्यानमा र कालीकोटमा चार/चार वटा, हुम्ला र मुगुमा दुई/दुई वटा तथा रुकुमपश्चिम र जाजरकोटमा एक/एक वटा शाखारहित बैङ्किङ सेवा रहेका छन् । बाँकी दुई जिल्ला डोल्पा र जुम्लामा भने यस्तो सेवा प्रवाह सुरु नै भएको छैन ।

११३ वटा एटिएम

समीक्षा वर्षमा कर्णाली प्रदेशमा ११३ वटा एटिएम सञ्चालनमा रहेका छन् । समीक्षा वर्षमा हुम्ला र मुगुमा दुई÷दुई वटा एटिएम रहेका छन् । समीक्षा वर्षसम्म कर्णाली प्रदेशमा मोबाइल बैङ्किङ रजिस्टर गर्ने ग्राहकको सङ्ख्या सात लाख ९२ हजार ४३१ पुगेको छ । जसमध्ये सबैभन्दा बढी सुर्खेतमा तीन लाख ११ हजार ८१७ र सबैभन्दा कम डोल्पा जिल्लामा १८ हजार ३६ रहेका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार