काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी माघ १४ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ ।
यही पुस २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकको बनेपास्थित बनेपा पार्टी भेन्युमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
सञ्चालक समितिमा संस्थापक तर्फबाट ४ जना र सर्वसाधारण समूहतर्फ २ जना निर्वाचनको कार्यक्रमसमेत सभाका लागि तय भएको छ । कम्पनीले यस वर्ष लाभांश प्रस्ताव भने गरेको छैन । अन्य कुनै वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा माघ १ गते सार्वजनिक बिदा परेकाले पुस २९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।