काठमाडौं । नेपालमा महशुस भएको शक्तिशाली भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना नजिकै तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागका अनुसार बिहान ६ बजेर ५० मिनेटमा गएकाे भूकम्पको मापन ७ म्याग्निच्युड रहेको छ।
यस भूकम्पको धक्का नेपालका पूर्वी तथा मध्य भागमा तीव्र रूपमा महशुस गरिएको छ। सोलुखुम्बु क्षेत्र भूकम्पको केन्द्रविन्दुसँग नजिक पर्न गएको हुँदा त्यहाँ ठूलो प्रभाव परेको प्रारम्भिक अनुमान गरिएको छ। सोलुखुम्बुका प्रहरी प्रवक्ता लक्ष्मण गिरीका अनुसार स्थानीय प्रशासनले सम्भावित क्षतिको विवरण संकलन गर्ने कार्यलाई तीव्र बनाइरहेको छ।
तिब्बत क्षेत्रका साथै नेपालका झापा, इलाम, मोरङ, काठमाडौं उपत्यका लगायतका क्षेत्रमा पनि भूकम्पको असर महशुस गरिएको छ। स्थानीय बासिन्दाहरू बिहानै घर बाहिर निस्कन बाध्य भएका थिए।
हालसम्म क्षतिको कुनै आधिकारिक विवरण प्राप्त नभए पनि सरकारी निकायहरूले आपतकालीन उद्धार र जानकारी संकलनलाई प्राथमिकता दिइरहेका छन्। भूकम्पबाट सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहमा सचेतना र उद्धार टोली सक्रिय गरिएको छ।
भूकम्पले प्रभावित क्षेत्रका जनजीवनमा के कस्तो असर पारेको छ भन्ने थप विवरण केही घण्टाभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ। विभागले भूकम्पको पराकम्पनको सम्भावनालाई समेत ख्याल गर्न आग्रह गरेका छन्।
सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्यक्रम तुरुन्त सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ। नागरिकहरूलाई शान्त रहन र आवश्यकता अनुसार सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरिएको छ।