काठमाडौं । ङादी ग्रुप पावरका लिमिटेडको आज मंगलबार देखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी शत प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो ।
यस आधारमा शेयरधनीहरूले कम्पनीको १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर खरीदका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २२५ कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको छ ।
हकप्रद शेयरमा माघ १४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते एक दिन बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा मंसिर १७ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्बन्धित शेयरधनीहरूले सिद्धार्थ बैंकको विराटनगर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन पाउने व्यवस्था छ । मेरो शेयर अनलाइनबाट समेत यो हकप्रद खरीदका लागि प्रयोग गर्न सकिनेछ ।
कम्पनीले हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपि डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ कायम हुनेछ ।