काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकबाट ग्राहकलाई निक्षेप भुक्तानी कार्य स्थगित गरिएको छ।
नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहका संयोजक टीकाराम खतिवडाले एक सूचना जारी गर्दै आज पुस २३ गतेबाट पुस २६ गतेसम्मका लागि निक्षेप भुक्तानी कार्य स्थगन गरिएको जानकारी गराएका हुन्। बैंकको तरतला व्यवस्थपन तथा नियमित काम भइरहेको भन्दै हाल निक्षेप भुक्तानी कार्य स्थगन गरिएको बताइएको छ ।
तरलता व्यवस्थापन भएपछि निक्षेप भुक्तानी कार्य पुनः सुचारु गरिने बताइएको छ। व्यवस्थापन समूहले बैंकका ग्राहकलाई केही दिनदेखि निक्षेप भुक्तानी कार्य गर्दै आएको थियो।राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिएको छ। हाल राष्ट्र बैंकको व्यवस्थापन समूहले संस्थामा सुधारका कामहरु गरिरहेको छ।