काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर तीन दशलमव चार प्रतिशत हुने अनुमान गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव दुई प्रतिशत विन्दुले कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर तीन दशमलव छ प्रतिशत थियो । कृषि उत्पादन, विद्युत् उत्पादन तथा वितरण र पर्यटन आगमन सकारात्मक भएकाले चालू आर्थिक वर्षको पाहिलो त्रैमासमा आर्थिक वद्धिदर धनात्मक हुने भएको छ ।
कृषि उत्पादनमा भएको वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मू्ल्य अभिवृद्धिमा भएको वृद्धिले अर्थतन्त्रमा सकारात्मक असर परेको हो । यसबाहेक यातायात, स्वास्थ्य सेवा र सार्वजनिक प्रशासनका क्षेत्रमा भएको अभिवृद्धिमा भएको वृद्धिदर कारक मानिएको छ ।
आर्थिक वृद्धिदरले प्रभावित पार्नेमा भने बाढी तथा पहिरोको प्रभाव र निर्माण क्षेत्र मानिएको छ । असोज १२ र १३ गते अविरल वर्षापछि गएको बाढी पहिरोले कृषि, पूर्वाधारलगायतका क्षेत्रमा परेको असर र निर्माण क्षेत्रमा देखिएको सरकार र निर्माण व्यवसायीहरूको द्वन्द्वका कारण आर्थिक वृद्धिदरमा धनात्मक प्रभाव पारेको बताइएको छ । सरकारले निर्माण व्यवसायीहरूको ४० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको निर्माण व्यवसायी महासंघले दाबी गर्दै आएको छ । सरकारबाट भुक्तानी नपाएको भन्दै निर्माण क्षेत्र अघि बढाउन नसकिएको महासंघका अध्यक्ष रवि सिंहले दाबी गर्दै आएका छन् । तर, सरकारले भने निर्माण व्यवसायीको रकम भुक्तानी गरेको करिब आठदेखि १० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भौतिक तथा यातायात मन्त्रालयले बताएको छ । अर्को नियमक निकाय अर्थ मन्त्रलायका प्रवक्ता महेश आर्चायले भने यो वर्षका लागि भुक्तानी गर्ने रकम अभाव रहेको बताउँदै आएका छन् ।
औद्योगिक क्षेत्र धनात्मक हुँदा उक्त आर्थिक वृद्धिदर सम्भव भएको बताइएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको प्रथम त्रैमासिकमा कुल १८ वटा औद्योगिक क्षेत्र मध्ये १२ वटामा धनात्मक वृद्धिदर र छवटामा ऋणत्मक वृद्धिदर छ । गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा भने १८ वटा औद्योगिक क्षेत्रमध्ये १७ वटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य वृद्धिदर धनात्मक रहेको छ । समीक्षा अवधिमा सबैभन्दा धेरै विद्युत् तथा ग्यास २१ दशमलव चार प्रतिशत रहेको छ भने त्यसपछि क्रमशः यातायात तथा गोदाममा छ दशमलव सात प्रतिशत, आवास तथा भोजन सेवा छ दशमलव तीन प्रतिशत, वित्तीय तथा बिमा पाँच दशमलव सात प्रतिशत, प्रशासनिक सहयोगी सेवा पाँच दशमलव चार प्रतिशत, पेसागत वैज्ञानिक तथा प्राविधिक सेवा पाँच दशमलव एक प्रतिशतको वृद्धिदर रहनेछ ।
साथै स्वास्थ्य तथा सामाजिक कार्य चार दशमलव एक प्रतिशत, घरजग्गा तीन दशमलव एक प्रतिशत, कृषि तथा उत्खनन तीन प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा तीन प्रतिशत, सूचना तथा प्रविधि दुई दशमलव दुई प्रतिशत, उत्पादनमूलक उद्योग दुई दशमलव तीन प्रतिशत, पानी आपूर्ति तथा फोहोर व्यवस्थापन एक प्रतिशत, अन्य सेवा शून्य दशमलव सात प्रतिशत, व्यापार शून्य दशमलव पाँच प्रतिशत निर्माण, शिक्षा शून्य दशमलव चार प्रतिशत, खानी तथा उत्खनन शून्य दशमलव चार प्रतिशत र शून्य दशमलव तीन प्रतिशतको वृद्धिदर रहेने बताइएको छ ।
कार्यालयका अनुसार धानलगायतका वर्षे बालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदे बालीहरू र पशुपन्छीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रका आर्थिक वृद्धिदर सकारात्मक रहेको हो । समयमा मलको उपलब्धता, उन्नत बीउको प्रयोग तथा यथेष्ट मनसुनी वर्षा भएका करण कृषिजन्य उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ । यद्यपि वर्षायामको बाढी र पहिरोले पुर्याएको क्षतिका कारणले कृषि क्षेत्रको मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन नसकेको हो । व्यापार क्षेत्रको हकमा भने कृषि तथा व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिका कारणले गर्दा वृद्धि धनात्मक दिशातर्फ उन्मुख भएको बताइएको छ । समीक्षा अवधिमा औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण यो क्षेत्रको वृद्धि सुधारोन्मुख रहन गएको बताइएको छ ।