काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि लाभांश वितरण नगर्ने भएको छ ।
बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्म कायम रहेको वितरणयोग्य मुनाफा संचित गरी यस वर्ष पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सोही बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण भने आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिने निर्णय पनि गरेको छ ।
कम्पनीले गत वर्ष पनि लगानीकर्ताको हात खाली बनाएको थियो । यसअघि आर्थिक वर्ष २०७८/७९ सम्म निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले पछिल्लो दुई वर्ष लाभांश वितरण नगरेको हो ।
आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।