काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको संस्थापक शेयर विक्रीमा आएको छ । नागरिक लगानीकोषको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५९ हजार ६० कित्ता र सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो । इच्छकु लगानीकर्ताहरुले पुस २५ गतेदेखि माघ ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
नागरिक लगानीकोषको शेयरको मूल्य प्रतिकित्ता ७०३ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको प्रतिकित्ता २५३ रुपैयाँ र सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको छ । यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यी शेयर यसअघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि जारी गरिसकिएको छ ।
विद्यमान संस्थापक शेयरधनीहरूले शेयर खरिदका लागि आवेदन नदिए पछि अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागिएको हो । नागरिक लगानीकोषका लागि न्यूनतम १० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको लागि न्यूनतम ५ हजार कित्ता र सूर्यज्योति लाइफ इन्स्योरेन्सको लागि न्यूनतम ५ हजार कित्ता माग गर्नुपर्नेछ ।
अधिकतम कित्ताका लागि भने कुनै हद तोकिएको छैन । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताले पुस २५ गतेपछि कम्पनीहरूले प्रस्ताव गर्ने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्न योग्य हुने जानकारी कम्पनीहरूले दिएका छन् । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।