काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बीमा क्षेत्रको विकास प्रवर्द्धन गर्नु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन्।
अर्थमन्त्री पौडेलले सरकारले बीमा क्षेत्रको विकास र प्रवर्द्धन निरन्तर प्रयास गर्दै आइरहेको बताएका हुन्। ‘प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन, व्यवसाय र सम्पत्ति र दायित्वको रक्षा गरी वित्तीय सुरक्षा प्रदान गर्न बीमा क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ’, उनले भने, ‘जोखिम व्यवस्थापनका माध्यमबाट मात्रै उत्थानशील समाज र उत्थानशील अर्थतन्त्रको निर्माण सम्भव छ भन्ने मेरो बुझाइ छ।’
जोखिम न्यूनीकरण, वित्तीय सुरक्षा, बचत परिचालन एवं पुँजी निर्माण, लगानी अभिवृद्धि, रोजगारी सिर्जनाजस्ता माध्यमबाट स्वाधीन र समुन्नत अर्थतन्त्र निर्माण गर्न बीमा क्षेत्रको महत्वपूर्ण योगदान रहेको अर्थमन्त्री पौडेलको भनाइ थियो। ‘सरकारको बीमाको पहुँच विस्तार गर्ने नीतिका साथै पशु तथा बाली बीमा, सहुलियतपूर्ण कर्जा बीमा र स्वास्थ्य बीमामा अनुदान दिने एवं बीमासम्बन्धी सचेतना अभिवृद्धि सञ्चालन गर्नेजस्ता कार्यक्रमबाट अर्थतन्त्रमा यो क्षेत्रको योगदान क्रमशः बढ्दै गइरहेको छ’, उनले भने, ‘सरकारले लिएको नीतिगत प्रोत्साहनका लागि बीमाको दायरा बढ्दै गइरहेको छ। वैदेशिक रोजगारी म्यादी बीमा जीवन बीमासमेत गरी करिब ४३–४४ प्रतिशत जनसंख्या बीमाको दायरामा समेटिएको छ।’
बीमा क्षेत्र प्रभावकारी र दिगो बनाई दुर्गम तथा न्यून आय भएका वर्गलगायत समाजका सबै तहमा बीमाको पहुँच पुर्याउन बीमा साक्षरतालाई तीव्र बनाउन आवश्यक रहेको मन्त्री पौडेलले औँल्याए। ‘सरकार नागरिकको जीवनचक्रमा आधारित भएर बीमा पहुँच विस्तार र सेवाको प्रभावकारिता बढाउन चाहन्छ’, उनले भने।
मन्त्री पौडेलले जोखिम न्यूनीकरणका माध्यमबाट उत्थानशील समाज र सुदृढ अर्थतन्त्र निर्माणमा सरकार निरन्तर क्रियाशील रहेको बताए। ‘बीमालाई सामाजिक सुरक्षासँग आबद्ध गर्ने गरी नीति प्रबन्ध गर्नु पनि उद्देश्य पनि यही हो’, उनले भने, ‘स्वास्थ्य बीमा, लघु बीमा, कृषि बीमा, सहुलियतपूर्ण कर्जाको बीमा विस्तार, नियमनकारी निकायको नियामक कार्य क्षमतामा विकास, सरल र शीघ्र दाबी भुक्तानीको तीव्र विस्तार, बीमा जालसाझी नियन्त्रणजस्ता विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको छ। यसतर्फ आउने दिनमा सरकारले अझै ध्यान दिनेछ।’
बीमकहरुको जोखिम न्यूनीकरणका लागि जोखिममा आधारित सुपरिवेक्षण प्रणाली लागू गर्ने, बीमा क्षेत्रको नियमनलाई सबल, प्रभावकारी र व्यावसायिक बनाउन नियामक निकायको क्षमता अभिवृद्धि गर्ने, पुनर्बीमाको संस्थागत क्षमता अभिवृद्धि गर्ने, बीमकको लगानीयोग्य रकमलाई सुरक्षित र प्रतिफलमुखी क्षेत्रमा लगानी गर्ने वातावरण बनाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री पौडेलले बताए। ‘बीमा सम्बन्धमा अवलम्बन गरिएका अन्तर्राष्ट्रिय अभ्यासहरुलाई अनुशरण गरी आर्थिक, प्राकृतिक, सामाजिक एवं अन्य कारण उत्पन्न हुने जोखिमलाई बीमाको दायरामा ल्याई वित्तीय जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा यो कार्यक्रम फलदायी एवं उपयोग हुने मेरो विश्वास छ’, उनले भने, ‘यो कार्यक्रमबाट बीमा क्षेत्रको प्रवर्द्धन र सबलीकरणका लागि ठोस सुझाव प्राप्त हुने पनि मेरो अपेक्षा गर्छु। यो कार्यक्रममा हुने छलफल र निष्कर्ष बीमा क्षेत्रका लागि नीतिहरुलाई अझ परिष्कृत गर्न र त्यस समृद्धि तुल्याउन उपयोग हुने भन्ने म आशा गर्छु।’