निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शीघ्र अघि बढाउन संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शीघ्र अघि बढाउन निर्देशन दिएको छ। समितिले बिहीबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई बोलाएर छलफल गर्दै विमानस्थल निर्माणलाई प्राथमिकता दिन सुझावसहित निर्देश गरेको हो।

समितिको बैठकपछि जारी १० बुँदे निर्णयको सातौं बुँदामा भनिएको छ, ”राष्ट्रिय महत्त्व, सुरक्षा, र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक मानिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शीघ्र अघि बढाउन नेपाल सरकार र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिन्छौँ।”

पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा गठित समितिले गत वैशाख ९ गते विमानस्थल निर्माणको मोडालिटीसहितको प्रतिवेदन तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङलाई बुझाएको थियो। तर, त्यसयता प्रतिवेदनमा कुनै ठोस कार्यान्वयन नभएको समितिका सदस्यहरूले गुनासो गरेका छन्।

समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई एउटै परियोजनाको रूपमा अघि बढाउन सुझाव दिएको छ। यो योजना लागू भएमा नेपालको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा दीर्घकालीन सुधार हुने समितिको विश्वास छ।

समितिले सरकारलाई निर्माण प्रक्रिया लम्बिने क्रम रोक्न र शीघ्र कार्यान्वयनका लागि आवश्यक स्रोत साधन जुटाउन आग्रह गरेको छ। बैठकमा मन्त्री पाण्डेले सरकार निर्माण कार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको आर्थिक विकास र पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण आयोजना मानिन्छ। लामो समयदेखि अलमलमा परेको यो परियोजना कहिले बन्ने हालसम्म ढुंगो लाग्न सकेको छैन ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार