तीनै तहका सरकारको आम्दानीभन्दा खर्च १ खर्ब ३१ अर्ब बढी

काठमाडौं । तीन तह (संघीय, प्रदेश र स्थानीय सरकार)को आम्दानीभन्दा खर्च बढी देखिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा तीनै तहका सरकारले प्राप्तिभन्दा १ खर्ब ३१ अर्ब २ करोड ९६ लाख रुपैयाँ बढी खर्च गरेका छन् ।

अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको संघ, प्रदेश र स्थानीय तहको एकीकृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष ०८०/८१ मा तीनै तहका सरकारको कुल खर्च प्राप्तिभन्दा बढी देखिएको हो ।

गत आवमा तीन तहका सरकारको कुल खर्च १६ खर्ब ८२ अर्ब ८ करोड ६६ लाख रुपैयाँ भएको एकीकृत वित्तीय विवरणमा देखिन्छ । उक्त आवमा तीन तहले राजस्व र अन्य आयसहित १५ खर्ब ५१ अर्ब ५ करोड ७० लाख रुपैयाँ प्राप्ति गरेका छन् ।

तीनै तहको प्राप्ति भन्दा खर्च धेरै भए पनि नगद तथ बैंक मौज्दात धनात्मक रहेको छ । चालु आवको सुरु हुँदासम्म तीन तहको सरकारसँग नगद तथा बैंक मौज्दात १ खर्ब ३४ अर्ब १२ करोड ५१ लाख रुपैयाँ छ । खासगरी, स्थानीय तहका सञ्चित कोष र अन्य सरकारी कोषका रकम मौज्दात रहेका कारण तीनै तहको एकीकृत बाँकी नगद तथा मौज्दात धनात्मक देखिएको हो ।

ऋण दाहित्व

गत आर्थिक वर्ष सररकारले कुल ३ खर्ब ६० अर्ब ८ करोड ७५ लाख रुपैयाँ ऋण प्राप्ति गरेको छ । यसमध्ये वैदेशिक ऋण १ खर्ब २५ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ र आन्तरिक ऋणतर्फ २ खर्ब ३४ अर्ब ४२ करोड १४ लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षमा कुल २ खर्ब २३ अर्ब २७ करोड ९५ लाख ऋणको सावाँ भुक्तानी भएको छ । गत आवको अन्यसम्ममा सरकारको बाँकी कुल ऋण दाहित्व २४ खर्ब ३४ अर्ब ९ करोड ९७ लाख रुपैयाँ छ । जसमा बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड ७९ लाख र आन्तरिक तर्फ ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख रुपैयाँ ऋण दाहित्व छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार