काठमाडौं। नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ‘एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.०’ सम्पन्न गरेको छ । नेपाली स्टार्टअपहरूको नवप्रवर्तनात्मक भावना र उद्यमशील उत्कृष्टताको उत्सवको रूपमा आयोजित उक्त कार्यक्रममा १५० भन्दा बढीको सहभागिता रहेको संस्थाले बताएको छ ।
यस वर्षको विजेता डीएल अपलोडलाई ४ लाख पुरस्कारसहित प्रतिष्ठित स्टार्टअप अवार्ड प्रदान गरिएको छ । उपविजेता मेल्ट डाउनलाई २ लाख पुरस्कार प्रदान गरिएको छ भने खेतीपाती अर्गानिक्सले अडियन्स पिक अवार्ड जित्दै १ लाख हात पारेको छ । उक्त कार्यक्रमको मुख्य प्रायोजक ग्लोबल आइएमई बैंक रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारी र विशेष अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल थिए । अध्यक्ष ढकालले स्टार्टअपले आर्थिक वृद्धि र नवप्रवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । आयोगका उपाध्यक्ष अधिकारीले स्टार्टअपलाई सफल बनाउन अनुकूल नीति निर्माणको आवश्यकता औंल्याए ।
कार्यक्रम एनवाईईएफ काठमाडौं च्याप्टरका अध्यक्ष अभिमन्यु गोल्छाको सञ्चालन तथा नेतृत्वमा भएको थियो । एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० नवीनता र उद्यमशीलतालाई प्रेरणा दिने उत्कृष्ट मञ्चको रूपमा रहेको उनले बताए । कार्यक्रममा डीएल अपलोड, मेल्ट डाउन, खेतीपाती अर्गानिक्स, ज्ञान बजार, ई–कागजपत्र, माच २० अर्बिटल्स र स्मार्टपालिका अन्तिम चरणमा पुगेका थिए ।