बहुवर्षीय ठेक्कालाई रकमान्तर गरी भुक्तानी दिन सक्ने

काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय गौरवका आयोजना तथा अन्य बहुवर्षीय स्रोत सहमति प्राप्त आयोजनालाई रकमान्तर गरी भुक्तानी गर्न सक्ने बताएको छ । मन्त्रालयले नीतिगत सहजताका लागि भन्दै राष्ट्रिय गौरवका आयोजना तथा अन्य बहुवर्षीय स्रोत सहमति प्राप्त आयोजनालाई रकमान्तर गरी भुक्तानी गर्न सकिने बताइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उक्त आयोजनाहरु अघि बढाउन नीतिगत सहजता गरी सहयोग गर्न अर्थलाई प्रस्ताव गरे सँगै अर्थले सहजीकरण गर्न सम्वन्धित निकायहरुलाई निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता महशे आचार्यका अनुसार अर्थमन्त्रीस्तरीय निर्णय अनुरुप उक्त निर्देशन दिएको हो ।

निर्णय अनुरुप चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन भएको बजेट आयोजनाको हालसम्मको भौतिक तथा वित्तीय कार्य प्रगति र आगामी दिनमा कार्ययोजना अनुसार हुनसक्ने कार्य प्रगति समेतको विश्लेषण गरी खुद बचत हुने देखिएमा त्यसरी बचत हुन आउने रकम बहुवर्षीय ठेक्का सम्झौताको सहमति प्राप्त आयोजनाको विधिसम्मत सिर्जित दायित्व भुक्तानी गर्नका लागि नियमानुसार रकमान्तर प्रस्ताव गर्न सकिने बताइएको छ ।

साथै रकमान्तर गरी बजेट घटाइएका राष्ट्रिय गौरवका आयोजना तथा अन्य बहुवर्षीय स्रोत सहमति प्राप्त आयोजनाको भौतिक कार्य प्रगतिमा उल्लेखनीय सुधार भई थप दायित्व सिर्जना हुन गएमा जुनसुकै आयोजनामा बचत हुने रकमबाट एक पटकलाई नियमानुसार रकमान्तर गरी राष्ट्रिय गौरवका आयोजना तथा अन्य स्रोत सहमति प्राप्त आयोजनाको विधिसम्मत सिर्जित दायित्व भुक्तानी गर्न सकिने बताइएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार