काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले भारतीय मालवहाक गाडीको ७२ घण्टे पास खारेज गर्न माग गरेको छ । पुस २६ गते अत्याधिक भारवहन गरी सञ्चालित भारतीय मालवाहकका कारण नवलपुरको दुम्कीबासमा स्थित विनय खोलाको पुल भाँचिएको थियो ।
अत्याधिक भारवहन गरी सञ्चालित भारतीय ट्रकले गर्दा नेपालका सडक बिग्रिनुका साथै दुर्घटनाका जोखिम बढेकाले महासंघले भारतीय मालवाहक सवारी साधनको निवार्ध आवागमनमा रोक लगाई ७२ घण्टे प्रवेश पास खारेज गर्न माग गरेको हो ।
एन.एल.०१ ए एच ५१६१ नम्बरको सवारी साधनले अत्याधिक भारवहन गरी संचालन भएको कारणले दुम्कीबासमा रहेको विनय खोलाको पुल भाचिन पुगेको हो । यसले गर्दा सवारी साधन संचालनमा समेत बाधा पुगेको छ ।यस सम्बन्धमा गण्डकी प्रदेशका सम्बन्धित निकायहरुलाई कार्वाही प्रकृया अगाडी बढाउन ध्यानाकर्षण गराउर्दै स्वदेशी र बिदेशी मालवाहक सवारी साधनको भारवहन नियन्त्रणमा नेपाल सरकारले सम्बन्धित निकायहरुबाट बिशेष पहलमा उदाशिनता देखाए अन्य सडक संरचनाहरुमा समेत क्षति हुन जाने महासंघका महासचिब राजेन्द्रबिक्रम वानियाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महासंघले नेपाल भित्र संचालनमा रहेका सम्पूर्ण मालवाहक सवारी साधन ट्रक, टयाङ्कर, टेलरहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र यातायात व्यवस्था नियमावली २०५४को अधिनमा रहि आफ्नो सवारी साधन संचालन गर्न पटक पटक निर्देशन गर्दै आएको छ । देश भरको राष्ट्रिय राजमार्गहरुमा अनाधिकृत रुपमा कानूनी छिद्रको प्रयोग गर्दे स्वदेशी तथा विदेशी सवारी साधनले अधिक भारवहन गरि संचालन भएको व्यहोरा लिखित पत्र मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,यातायात व्यवस्था बिभाग र प्रहरी प्रधान कार्यालयलाई महासंघले जानकारी पनि गराउँदै आएको छ ।
साथै सडक संरचना बचाउन र दुर्घटना न्यूनिकरण गरि सर्वसाधरणको जीवन रक्षा गर्न, उपभोक्ताहरुलाई सर्व सुलभ सेवा प्रदान गर्न र यस क्षेत्रमा भएको खर्बौको लगानी सुरक्षित गर्न महासंघले सरकारसँग माग गरेको छ ।
महासंघको माग यस्तो छ:
१) भारतीय मालवाहक सवारी साधनको निवार्ध आवागमनमा रोक लगाई ७२ घण्टे प्रबेश पास खारेज गरिनु पर्ने ।
२) मालवाहक सवारी साधन भारवहन नियमन सम्बन्धि कार्यबिधि २०७४लाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने ।
३) नेपाल प्रबेश गर्ने भारतीय सवारी साधनलाई भन्सार बिन्दुमानै नेपालको कानूनले तोकेको भारवहन भन्दा बढी माल बस्तुको जाच पास गर्ने अधिकारीलाई जिम्मेवार बनाईनु पर्ने ।
४) नेपालका जिर्ण पूल र जोखिमयूक्त सडकहरुमा स्पष्ट देखिने गरि सडकको क्षमता र चिन्ह राखिनु पर्ने ।
५) ट्राफिक प्रहरी, जनपद प्रहरी र यातायात व्यवस्था कार्यालयहरुबाट मालवाहक सवारी साधनले तोकिएको भार वहन गरेका छन कि छैनन भनि मान्यता प्राप्त तौलपुल र निकायको लोड सिट समेत चेक जाच गरिनु पर्ने र अधिक भारवहन गरेको पाईएमा जरिवाना सहित अधिक भरलाई अनलोड गर्न लगाई भार मिलान गरेर मात्र अगाडी बढ्न दिनुपर्ने ।