काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट शेयरधितो राखेर प्रवाह हुने कर्जामा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, मंसिर मसान्तसम्म यो कर्जा १९.८ प्रतिशतले बढेर १ खर्ब ७ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तमा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ बराबरको यस्तो कर्जा प्रवाह भएको थियो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा शेयरधितो कर्जाको सीमा खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको प्रभाव स्वरुप शेयरधितो कर्जामा बहार आएको लगानीकर्ताहरु बताउँछन् ।
साउन १८ गतेदेखि संस्थागत लगानीकर्ताहरूका लागि २० करोडको सीमा हटाइएको छ । तर व्यक्तिगत लगानीकर्ताका लागि १५ करोडको सीमा यथावत छ। यसले ठूलो आकारका लगानीकर्तालाई सहज बनाएको छ भने साना लगानीकर्ताले केही सीमामा काम गर्नुपर्ने बाध्यता रहेको लगानीकर्ताहरु बताउँछन् ।
राष्ट्र बैंकले अनुसार शेयर धितोमा जाने सबै प्रकारको कर्जा बढेको जानकारी दिएको छ ।
पाँच महिनाको अवधिमा १ करोड रुपैयाँभन्दा माथिको कर्जा २७.३% वृद्धि भई १५ अर्ब २५ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।
५० लाखदेखि १ करोडसम्मको कर्जा ११.३% वृद्धि भई १ अर्ब ४० करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
२५ लाखदेखि ५० लाखसम्मको कर्जा ५.९% वृद्धि भई ८ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
२५ लाखसम्मको कर्जा ३ करोड ३६ लाख रुपैयाँ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
बैंकहरूको योगदान
मंसिर मसान्तसम्म २० वटा बैंकहरूमध्ये १९ बैंकले ८६ अर्ब ३३ करोड रुपैयाँ शेयरधितो कर्जा प्रवाह गरेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले यस्तो कर्जा नदिएको देखिएको छ ।
शेयर धितो कर्जा दिनेमा नबिल बैंक अग्र स्थानमा छ । बैंकले मंसिर मसान्तसम्म १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ कर्जा दिएको छ । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ११ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ कर्जा दिएको छ ।
सबैभन्दा कम नेपाल एसबिआई बैंकले ४७ करोड ६८ लाख रुपैयाँ मात्रै कर्जा दिएको छ ।
राष्ट्र बैंकका अनुसार नेपाल बैंकले ७ अर्ब ९१ करोड, सिद्धार्थ बैंकले ७ अर्ब ९१ करोड, कुमारी बैंकले ६ अर्ब ८० करोड १६ लाख, प्राइम बैैंकले ५ अर्ब ८३ करोड ५२ लाख, सिटिजन्स बैंकले ५ अर्ब ६८ करोड ७६ लाख, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २० करोड १५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यस्तै प्रभु बैंकले ४ अर्ब २ करोड, लक्ष्मी सनराइज बैंकले ३ अर्ब ७४ करोड ६७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ८ करोड ५४ लाख, एनआईसी एशिया बैंकले २ अर्ब ६५ करोड ९५ लाख, एभरेष्ट बैंकले २ अर्ब ५३ करोड सानिमा बैंकले २ अर्ब ३२ करोड ४८ लाख रुपैयाँ शेयर धितोमा कर्जा दिएका छन् ।
कृषि विकास बैंकले १ अर्ब ९३ करोड ९० लाख, हिमालयन बैंकले १ अर्ब ८३ करोड, एनएमबि बैंकले १ अर्ब ७१ करोड २१ लाख, माच्छापुच्छ्रे बैंकले ९५ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।