CLI

आईपीओ भर्नका लागि ५० हजार आवश्यक पर्ने नियम सहित साना तथा मझौला संस्थाको नियमावली कार्यान्वयनमा

काठमाडौ । नेपाल धितोपत्र बोर्डले “साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१” लागु गरेको छ। नेपाल सरकारले स्वीकृत गरेसॅगै बोर्डले २०८१ साल माघ ३ गतेबाट यो नियमावली कार्यान्वयनमा ल्याएको हो ।

न्युनतम २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीले यो नियमावली अनुसार आफ्नो चुक्ता पुँजीको ३० देखि ४९ प्रतिशतसम्म शेयरको सार्वजनिक निष्काशन गर्न सक्नेछन् । कुल निष्काशन हुने शेयरको ५ प्रतिशत शेयर बिक्री प्रबन्धकले र १५ प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ताले खरिद गर्नु पर्ने छ। उनीहरुले सो शेयर ३ वर्षसम्म बिक्री गर्न पाउने छैनन् । पब्लिक कम्पनी बनेको १ वर्षमा शेयर निष्काशन गर्ने अधिकार प्राप्त हुनेछ । साथै रेटिंग पनि अनिवार्य गरिएको छैन , यद्यपि बोर्डले चाहेमा रेटिंगको लागि निर्देशन दिन सक्नेछ।

बोर्डले नियमावली लागू गर्दै आवश्यक कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेञ्ज नेप्से र सिडिएस एण्ड क्लियरिङ्गलाई समेत पत्राचार गरिसकेको जानकारी दिएको छ । यो नियमावलीमा भएको व्यवस्था अनुसार थोरै चुक्ता पुँजी भएका कम्पनीको आईपीओ निष्काशनको लागि छुट्टै प्रक्रिया अपनाइनेछ।

नियमावली अनुसार यो जारी भएको कम्पनीको आईपीओ खरिद गर्नको लागि न्युनतम ५०० कित्ताको लागि आवेदन दिनु पर्नेछ । कम्पनीले प्रति शेयर १०० रुपैयाँमा शेयर निष्काशन गरेमा आईपीओ भर्न कम्तिमा ५० हजार लाग्नेछ। शेयर बाँडफाँड गर्दा पनि न्युनतम ५०० कित्ता नै बाँडफाँड गरिने छ। आईपीओ बिक्री बन्द भएको १५ दिनमा आईपीओ बाँडफाँड गरिसक्नु पर्ने छ। यो नियमावली बमोजिम ३ वर्षसम्म नाफामा रहेका कम्पनीहरुले प्रिमियम मूल्यमा पनि शेयर निष्काशन गर्न सक्ने छन् ।

Leave Your Comment

Related News