काठमाडौं । आरएसडिसी लघुवित्तले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकशित गरेको छ। वित्तीय विवरण अनुसार दोस्रो त्रैमासमा कम्पनीको कम्पनीको खुद नाफा घटेको छ।
कम्पनीले ४ करोड ४१ लाख खुद नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ३६.२५ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६ करोड ९३ लाख खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८.११ प्रतिशतले घटेर ११ करोड २१ लाखमा सिमित भएको छ । कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत छुट्याएको रकम ५२५ प्रतिशतले बढेर २ करोड ६० लाख पुगेको छ। त्यस्तै कम्पनीको नेट फि तथा कमिशन आम्दानी पनि घटेको छ। यी कारणले कम्पनीको खुद नाफामा गिरावट आएको देखिन्छ ।
कम्पनीको चुक्ता पुंजी ९४ करोड ४३ लाख रहेको छ भने रिजर्भमा ३० करोड ४९ लाख रहेको छ। यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा भने ३ करोड ६७ लाख रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा रहेको छ। कम्पनीको खराब कर्जा १.८२ प्रतिशतबाट बढेर २.७१ प्रतिशत पुगेको छ।