काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन माघ १८ गते अपराह्न ३ बजेबाट प्रारम्भ गर्न सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति समक्ष अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
एक मन्त्रिका अनुसार मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानबमोजिम संसद्को अधिवेशन आह्वान गर्नेछन्।
विपक्षी दलहरुले हिउँदे अधिवेशन ढिलो गरिए विशेष अधिवेशनको माग गर्ने चेतावनी दिइरहेका बेला सरकारले संसद्को नियमित अधिवेशनका लागि कदम चालेको हो। संसद्मा महत्त्वपूर्ण विधेयकहरु छलफलका लागि प्रतीक्षारत छन्, जसले गर्दा अधिवेशनको भूमिका झनै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
यसअघि, वर्षे अधिवेशन गत भदौ ३१ गते समाप्त भएको थियो।