CLI

१ खर्ब १६ अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौ ।  भन्सार विभागले आयात व्यापारमा पेट्रोलियम पदार्थको वर्चस्व रहेको बताएको छ ।  विभागका अनुसार चालु आर्थिक वर्षको पुसमसान्तसम्मको अवधिमा सबैभन्दा बढी परिणाममा पेट्रोलियम पदार्थ एक खर्ब १६ अर्ब ३१ करोड रुपैयाँको आयात गरिएको छ ।

समीक्षा अवधिमा पेट्रोलियम पदार्थ मध्ये डिजेल ५४ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ, पेट्रोल ३२ अर्ब १४ करोड ९३ लाख रुपैयाँ र खाना पकाउने एलपीजी ग्यास २९ अर्ब ७९ करोड ७० लाख रुपैयाँको आयात गरिएको छ । समीक्षा अवधिमा फलामजन्य सामग्री २५ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ, भटमास २४ अर्ब ३७ करोड २४ लाख रुपैयाँ, मोबाइल १६ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ, कच्चा सूर्यमुखी तेल १३ अर्ब ५६ करोड ६७ लाख र मल नौ अर्ब ५९ करोड रुपैयाँको आयात गरिएको छ । यसका साथै हवाई इन्धन, विद्युतीय सवारी साधन, मैक, सुन, माछा लगायतका सामग्री पनि अबौं बराबरको आयात गरिएको छ ।

उच्च आयातका कारण समीक्षा अवधिमा आठ खर्ब माथि आयात व्यापार रहेको छ । चालु आर्थिक वर्षको पुसमसान्तसम्मको अवधिमा आयात व्यापार आठ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबरको रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमो तुलनामा सात प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुसमसान्तसम्मको अवधिमा आयात व्यापार सात खर्ब ६८ अर्ब १६ करोड रुपैयाँको रहेको थियो ।

करिब १९ अर्बको भटमासको तेल निर्यात
समीक्षा अवधिमा सबैभन्दा बढी क्रमशः भटमासको तेल, गलैचाँ, सूर्यमूखी तेल, अलैंची लगायतका सामग्री निर्यात भएको छ । चालु आर्थिक वर्षको पुसमसान्तसम्मको अवधिमा भटमासको तेल १८ अर्ब ९१ करोड रुपैयाँ, गलैंचा पाँच अर्ब ६१ करोड ४२ लाख रुपैयाँ, सूर्यमुखी तेल चार अर्ब ९८ करोड ४८ लाख रुपैयाँ, अलैंची चार अर्ब ५६ करोड ६५ लाख रुपैयाँको निर्यात भएको छ ।

साथै चिया दुई अर्ब ९६ करोड रुपैयाँ, र्यान दुई अर्ब ७९ करोड रुपैयाँ, फेल्ट दुई अर्ब ४९ करोड रुपैयाँ र फलाम तथा फलामजन्य सामग्री दुई अर्ब ४७ करोड र जुट दुई अर्ब ३४ करोड रुपैयाँको निर्यात भएको छ । साथै जुस, कपडा, सल र कुकुर बिरालोको खानाको पनि निर्यात उच्च रहेको छ ।

विभागका अनुसार निर्यातयोग्य कृषि क्षेत्रका वस्तुहरूका व्यावसायिक उत्पादन हुन नसक्नु अर्को समस्या रहेको छ । अरू अन्तर्राष्ट्रिय व्यापारका समस्यामा लगानी एवम् व्यापारमैत्री वातावरणको कमी, निकासीजन्य उद्योगहरूलाई उत्पादनमूलक अन्य आर्थिक क्षेत्रहरूसँग एकीकृत गर्न नसक्नु, आपूर्तिजन्य कठिनाइहरू विद्यमान रहनु, प्रमुख निकासीजन्य वस्तुहरूको गुणस्तरमा कमी, असहज श्रम सम्बन्ध, ऊर्जा समस्याले उत्पादन लागत बढ्नु नेपाली व्यापारको समस्या हुन् । अर्कोतर्फ अन्तर्राष्ट्रिय समस्यामा अधिकांश निर्यातयोग्य वस्तुहरू आयातीत कच्चा पदार्थमा र न्यूनतम मूल्य अभिवृद्धिमा आधारित छन् ।

Leave Your Comment

Related News