७८ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थामा गैर बैंकिङ सम्पत्ति

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् ।

यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको गैरबैकिङ सम्पत्तिमा अत्याधिक बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पत्ति ३९ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ७८.०७ अर्थात् १७ अर्ब ३० करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति २२ अर्ब १६ करोड रुपैयाँ रहेको थियो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले घरजग्गामा प्रवाह गरेको कर्जा उठ्न नसक्दा ती संस्थाहरुमा गैरबैंकिङ सम्पत्ति बढ्न पुगेको विज्ञहरु बताउछन् । विज्ञहरुका अनुसार सरकार तथा राष्ट्र बैंकलाई घरजग्गा अनुत्पादक क्षेत्र रहेको र लगानी गर्न सुझाव दिदाँ अटेर गरेको परिणामा स्वरुप गैरबैंकिङ सम्पत्ति हरेक बैंक तथा वित्तीय संस्थाहरुमा थुप्रिन पुगेको हो ।

समीक्षा अवधिमा सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति आर्जन गर्नेमा वाणिज्य र्बैंक, विकास बैंक र वित्त कम्पनी रहेका छन्, यसो हुनमा भने उनीहरुको चुक्ता पूँजीको आकारले गर्दा पनि हो । चालु आर्थिक वर्षको मंसिरसम्म वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ३२ अर्ब ६५ करोड ५० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनमा गैरबैंकिङ सम्पत्ति १४ अर्ब २३ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति १८ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको मंसिरसम्म विकास बैंकको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ५४ करोड २० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २ अर्ब १० करोड २० लाख रुपैयाँले गैरबैंकिङ सम्पत्ति बढी हो । गत आर्थिक वर्षको मंसिरसम्मको विकास बैंकको गैरबैंकिङ सम्पत्ति २ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको मंसिरसम्म वित्त कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति २ अर्ब २७ करोड ४० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा गैरबैंकिङ सम्पत्ति ९६ करोड ८० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको मंसिरसम्मको अवधिमा वित्त कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति १ अर्ब ३० करोड ६० लाख रुपैयाँ रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्नु पर्ने वाध्यताका कारण गैरबैकिङ सम्पत्ति बढेको हो । सकारेपछि यस्तो सम्पत्ति सकेसम्म चाँडै बिक्री गर्नुपर्ने नियम रहेको छ भने त्यसो गर्न नसकेको अवस्था अहिलेका बैंक तथा वित्तीय संस्थामाथि रहेको छ । अर्कोतर्फ गैर–बैंकिङ सम्पत्ति सकार गरेकै समयबाट बैंकहरूले यसको जोखिमबाट बच्न शत प्रतिशत बराबर रकम प्रावधानमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार