काठमाडौं । पछिल्लो समय नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा करिब २६ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिबद्धता (एफडीआइ) रकम आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पुसमसान्तसम्म विदेशी लगानी प्रतिबद्धतास्वरूप २५ अर्ब ७७ करोड ६४ लाख ८८ हजार रुपैयाँ आएको हो । सो प्रतिबद्धता ३ सय ५४ वटा उद्योग स्थापना र १० हजार दुई सय ४४ जनालाई रोजगारी दिने उद्देश्यका साथ आएको हो । जुन चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म आएको लगानी प्रतिबद्धताको तुलनामा २४ प्रतिशत अर्थात् ४९ करोड ९९ लाख १२ हजार रुपैयाँले बढी हो । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म विदेशी लगानी प्रतिबद्धतास्वरुप २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार रुपैयाँ आएको थियो । सो प्रतिबद्धता ३ सय १९ वटा उद्योग स्थापना र ९ हजार २ सय ६ जनालाई रोजगारी दिने उद्देश्यका साथ आएको हो ।
विभागका अनुसार पुस मसान्तसम्मको अवधिमा सबैभन्दा बढी लगानी प्रतिबद्धता क्रमशः पर्यटनमूलक, सेवामूलक, उत्पादनमूलक, कृषिमूलक, सूचना प्रविधिमूलक र पूर्वाधारमूलकका लागि आएको छ । पर्यटनमूलकका लागि १६ अर्ब ९६ करोड ५५ लाख ९० हजार रुपैयाँ, सेवामूलकका लागि ५ अर्ब १५ करोड ८७ लाख ३० हजार रुपैयाँ, उत्पादनमूलकका लागि २ अर्ब ५ करोड १० लाख रुपैयाँ, कृषिमूलकका लागि ७४ करोड १० लाख रुपैयाँ, सूचना प्रविधिमूलकका लागि ७४ करोड १ लाख १८ हजार रुपैयाँ र पूर्वाधारमूलक १२ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको हो । उक्त लगानी प्रतिबद्धता १ सय ५७ वटा पर्यटनमूलक, ४५ वटा सेवामूलक, २५ वटा उत्पादनमूलक, ६ वटा कृषिमूलक, १ सय १९ वटा सूचना प्रविधिमूलक र २ वटा पूर्वाधारमूलकका उद्योग स्थापनाका उद्देश्यसहित आएको हो ।
विभागका निर्देशक अर्जुन सेन ओलीका अनुसार लगानीकर्ताहरूले स्वाचालित मार्ग र पुरानो कागजी (साधारण) रूपमा उक्त लगानी प्रतिबद्धता जनाएका हुन् । स्वचालित मार्गबाट २ अर्ब ३८ करोड १५ लाख रुपैयाँ र भौतिकरूपमा २३ अर्ब ३९ करोड ४९ लाख रुपैयाँ गरी उक्त लगानी प्रतिबद्धता आएको हो । भौतिकरूपमा आएका लगानी प्रतिबद्धता सबैभन्दा धेरै साना, मझौला र ठूला उद्योगहरूमा रहेको छ । जसमा साना ३ सय ४५ वटा, मझौला ५ वटा र ठूला ४ वटा उद्योगका लागि हुन् ।
त्यस्तै विभागका अनुसार पुसमा मात्रै विदेशी लगानी प्रतिबद्धतास्वरूप ४ अर्ब ९९ करोड ९१ लाख रुपैयाँ आएको छ । उक्त लगानी प्रतिबद्धता ३५ वटा उद्योग स्थापना तथा १ हजार ७१ जनालाई रोजगारीको उद्देश्यसहित आएको हो । पुसमा स्वचालित मार्गबाट २५ करोड १४ लाख पाँच हजार रुपैयाँ र भौतिकरुपमा ४ अर्ब ७४ करोड ७७ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको हो । उक्त लगानी प्रतिबद्धता १९ वटा उद्योग स्थापनाको लागि आएको हो ।
विभागका अनुसार समीक्षा अवधिमा विदेशी लगानीकर्ताहरूले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेका छन् । लगानीकर्ताहरूले चालू आर्थिक वर्षको पुस मसान्तसम्म ३० वटा उद्योगको लागि १ अर्ब ८५ करोड २७ लाख रुपैयाँबराबरको एसपीए र एसएसए गरेका छन् । पुसमा मात्र ३ वटा उद्योगका लागि ३१ करोड १५ लाख रुपैयाँबराबरको एसपीए र एसएसए सम्झौता गरिएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म २५ वटा र पुसमा मात्र ३ वटा उद्योगको प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) गरिएको छ ।
विदेशी लगानीकर्ताले विभागमार्फत भने न्यूनतम २ करोड रुपैयाँदेखि ६ अर्ब रुपैयाँसम्मको लगानी भित्र्याउन सक्नेछन् । ६ अर्ब रुपैयाँभन्दा माथिका लगानी भने लगानी बोर्डमार्फत स्वीकृत गरिन्छ । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ ।