काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डमा पर्ने निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आज ब्रेकथ्रु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङको ब्रेक थ्रु गरेका हुन् ।
उनले यस सुरुङमार्गले पहिरो र दुर्घटनाबाट जनतालाई सुरक्षित बनाई सहज यात्रा सुनिश्चित गर्ने बताए ।उनले नेपालमा सुरुङ मार्गको युग प्रारम्भ भएको भन्दै भविष्यमा दुर्गम स्थानहरूलाई यातायात सञ्जालमा जोड्ने प्रतिवद्धता व्यक्त गरे। उनले विकास निर्माणका लागि सरकारको प्राथमिकता र योजनाबारे चर्चा गर्दै द्रुत आर्थिक प्रगति, पूर्वाधार विस्तार, र जनताको जीवनस्तर सुधारमा सरकार क्रियाशील रहेको बताए। उनले स्थानीय जनता, मजदूर, इञ्जिनियर तथा सहयोगी संस्थाहरूलाई धन्यवाद दिँदै नेपाललाई विकसित राष्ट्रतर्फ उन्मुख गराउने प्रतिबद्धता दोहोर्याए।
सुरुङमार्गको हाल भौतिक प्रगति ४० प्रतिशत तथा वित्तीय प्रगति ३९.९ प्रतिशत पुगेको छ। हाल टनेलको ढलान तथा लाइटिङको काम तीव्र गतिमा भइरहेको छ।
सुरुङमार्गको मुख्य टनेल १ किलोमिटर ५३० मिटर रहेको छ। निर्माणको सम्झौता सन् २०२२ मा भएको हो र सन् २०२७ मार्चसम्म पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यदि हालकै गतिमा काम भएमा एक वर्षभित्र सुरुङमार्ग सञ्चालनमा आउने र सवारीसाधन चल्न सक्नेछ।
सुरुङमार्ग १।१२६ किलोमिटर लम्बाइको हुनेछ, जसले विशेषगरी चिडियाखोलादेखि दोभानसम्मको जोखिमपूर्ण यात्रा सहज बनाउनेछ। दोभानदेखि चिडियाखोलासम्मको ४ किलोमिटर सडक बारैकाल खस्ने पहिरोका कारण जोखिम भएकाले सुरुङमार्ग निर्माण सुरु गरिएको हो ।
सुरुङमार्गको संरचनागत विकास अन्तर्गत भेन्टिलेसन, लाइट जडान, नाली निर्माण, र अन्तिम लाइनिङको कार्य क्रमशः सम्पन्न हुँदै जानेछ। त्यहाँ दुईवटा बिल्डिङ, कन्ट्रोल सिस्टम, साउथ र नर्थ पोर्टल, तथा आकस्मिक सेवाका लागि दुईवटा हेलिप्याड समेत रहनेछन्।
सुरुङमार्ग निर्माणका लागि २०७७ साल मंसिर १ गते मन्त्रिपरिषद्को बैठकबाट बजेट स्वीकृति प्राप्त भएको थियो। २०७८ साल जेठ ९ गते ग्लोबल टेन्डर आह्वान गरिएपछि चिनियाँ कम्पनी सीएससीईसीले निर्माणको जिम्मा लिएको थियो। परियोजनाको कुल बजेट ७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ, जसमध्ये हालसम्म २ अर्ब ८६ करोड रुपैयाँ खर्च भइसकेको छ।
पश्चिम नेपालमा निर्माण भइरहेको एकमात्र सुरुङमार्ग भएकाले स्थानीय बासिन्दाहरू यसबाट उत्साहित छन्। विशेष गरी लुम्बिनी तथा गण्डकी प्रदेशका नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। मृत्युमार्गका रूपमा चिनिएको सिद्धबाबा सडकखण्ड सुरुङमार्ग निर्माणपछि सुरक्षित बन्ने आशा गरिएको छ।
सुरुङमार्ग एसियन हाइवे स्ट्यान्डर्ड अनुरूप निर्माण भइरहेको छ। सुरुङमार्ग सञ्चालन भएपछि गाडीले ६० किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्न पाउनेछन्। निर्माण सम्पन्न भइसकेपछि ५ वर्षसम्म यसको सञ्चालन तथा मर्मतसम्भारको जिम्मेवारी ठेकेदार कम्पनीमै रहने छ।
सुरुङमार्ग सम्पन्न भएर सञ्चालनमा आएपछि पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रमा सुरक्षित रुपमा यात्रा गर्न सहज हुनेछ ।