CLI

बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाको आवेदन, यस्तो छ उनीहरुको ब्याकग्राउण्ड

काठमाडौं ।नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारी संयोजक रहेको सिफारिस समितिले पुस २६ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको थियो ।

आवेदन दिने अन्तिम दिन आज (शुक्रबार) सम्म १२ जनाले प्राधिकरणको अध्यक्षका लागि आवेदन दिएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

प्राधिकरणको अध्यक्ष बन्नका लागि कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जवी चपागाँई, विष्णबाबु मिश्र, वुद्ध काजी श्रेष्ठ, दामोदर बसैला, डिमप्रसाद पौडेल, रामशरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोद काजी श्रेष्ठले आवेदन दिएका छन् ।

आवेदक मध्येमा कमलप्रसाद रेग्मी प्राधिकरणका निर्देशक हुन् । डा. देवराज रोका स्वरोजगार कोषका पूर्व उपाध्यक्ष हुन् । शरद ओझा आर्थिक पत्रकार हुन् । चिरञ्जवी चपागाँई बीमा समितिका पूर्व अध्यक्ष हुन् । विष्णुबाबू मिश्र निक्षेप तथा कर्जा सुरक्षण कोषका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् । वुद्ध काजी श्रेष्ठ साबिक युनाइटेड इन्स्योरेन्सका सञ्चालक हुन् । डा. दामोदर बसौला स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक हुन् । डिमप्रसाद पौडेल नेपाल वायूसेवा निगमका पूर्व महाप्रबन्धक हुन् । रामशरण पुडासैनी पूर्व सचिव हुन् । रमण नेपाल नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक हुन् ।

सिफारिस समितिले प्राप्त आवेदनहरूबाट योग्य उम्मेदवारहरूको सर्टलिस्ट तयार गर्नेछ। सर्टलिस्ट भएका उम्मेदवारहरूले कार्ययोजना प्रस्तुत गरेपछि अन्तर्वार्ता लिइनेछ। अन्तर्वार्तापछि तीन जनाको नाम मन्त्रिपरिषद्को अनुमोदनका लागि सिफारिस गरिनेछ। मन्त्रिपरिषद्ले सिफारिस भएका तीनमध्ये एक जनालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ।

यसअघि प्राधिकरणको अध्यक्ष रहेका सूर्यप्रसाद सिलवाल नागरिकता किर्ते मुद्दाका कारण मंसिर अन्तिम साता निलम्बित भएका थिए। उनको कार्यकाल माघ १९ गतेसम्म मात्र बाँकी थियो। सिलवालको निलम्बनपछि अध्यक्ष पद रिक्त भएको थियो।

Leave Your Comment

Related News