काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिका क्षेत्रमा लगाइएको काउली र बन्दामा लागेको रोगका कारण उत्पादनमा कमी आएको छ। राप्ती नगरपालिका वडा नम्बर ४ र ५ का किसानले लगाएको काउली, बन्दा तथा अन्य तरकारी बालीमा ढुसी लाग्ने र डढ्ने रोग देखिँदा फल्न लागेको बोट मर्ने समस्या उत्पन्न भएको कृषि विकास कार्यालय चितवनले जानकारी दिएको छ ।
तरकारी बालीमा देखिएको रोगको कारण पत्ता लगाउन कृषि विकास कार्यालयको नेतृत्वमा प्राविधिक टोलीले अनुगमन गरेको थियो। उक्त अनुगमनका क्रममा अत्यधिक विषादीको प्रयोग भएको पाइयो, जसले गर्दा ढुसी लाग्ने र बिरुवा मर्ने समस्या देखिएको हो। कृषि विकास कार्यालय चितवनकी बाली संरक्षण अधिकृत गीता केसीका अनुसार रोग देखा परेपछि रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको रोग अन्वेषण प्रयोगशालामा नमुना पठाइएको थियो। प्रारम्भिक रिपोर्टले काउली र बन्दामा विषादीकै कारण रोग उत्पन्न भएको देखाएको छ। थप पुष्टि गर्न नमुना सङ्घीय प्रयोगशालामा समेत पठाइएको छ।
कृषि विकास कार्यालयका अनुसार कम्तीमा तीन बिघा क्षेत्रफलमा यो समस्या देखिएको छ, भने अन्य स्थानहरूबाट पनि यस्तै समस्या रहेको जानकारी प्राप्त भएको छ। बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार राप्ती नगरपालिकाका विभिन्न स्थानमा लगाइएका अन्य तरकारीमा पनि रोग देखिएको छ।
चौहानका अनुसार विषादीको अत्यधिक प्रयोगले बिरुवाको पातमा चोट पुर्याएको छ। बिरुवा कमजोर भएपछि किसानले पानी हाल्दा चिस्यान झनै बढेर बिरुवाको अवस्था गम्भीर बनेको छ। पूर्वी चितवन तरकारी उत्पादनको पकेट क्षेत्रसमेत भएकाले यहाँ देखिएको नयाँ प्रकारको रोगले किसानहरूलाई मर्कामा पारेको छ। राप्ती नगरपालिका वडा नम्बर ८ बडहराका किसान शिवराज धरेलका अनुसार काउली जातका सम्पूर्ण तरकारीमा उक्त रोग लागेको छ।
किसानहरूले कृषि विकास कार्यालय र नगरपालिकाको कृषि विकास शाखामा यस समस्याबारे जानकारी गराएका छन्। प्रारम्भमा पातको टुप्पो मर्ने, फलको आकार सानो हुने, ओजन नआउने तथा बाहिरी स्वरूप कुरूप देखिने समस्या देखिएको छ। थप चिन्ताजनक विषय भनेको एक बिरुवाबाट अर्को बिरुवामा तीव्र रूपमा रोग सर्न थालेको छ।
यस समस्यालाई समाधान गर्न कृषि विज्ञ तथा सरोकारवाला निकायहरूलाई तत्काल आवश्यक कदम चाल्नुपर्ने देखिएको छ। साथै, किसानहरूलाई विषादीको सही प्रयोग तथा जैविक विकल्पहरूको प्रयोगबारे सचेत गराउनुपर्ने आवश्यकता छ।