काठमाडौं । नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागले माघ १६ र १७ गते नेपाल स्टार्टअप र साना तथा मझौला उद्यम सम्मेलन आयोजना गर्ने भएको छ ।
नेपालको उद्यमशीलता क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गर्ने तथा मुलुकको आर्थिक रुपान्तरणमा योगदान पुर्याउने उद्देश्यले सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सम्मेलन आयोजना गरिने भएको हो ।
पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनमा ८० वटाभन्दा बढी स्टार्टअप र साना तथा मझौला उद्यमसम्बन्धी प्रदर्शनी गरिने छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका सचिव गोपालकुमार झाले नवप्रवर्तन र सेवा अवलोकन गर्दै सहभागीले नयाँ व्यवसायिक सम्भावना पत्ता लगाउने बताए ।
उनका अनुसार कार्यक्रममा छ हजारभन्दा बढी युवा उद्यमी, नीति निर्माता, उद्योगपति, लगानीकर्ता, तथा प्राविधिक तथा विज्ञको सहभागिता रहने छ । उहाँले विषयगत सत्रमा नवप्रवर्तन र उद्यमशीलता, कृषि उद्यमशीलता, सूचना प्रविधि विकास, महिला उद्यमशीलता र प्रेरणादायी उद्यमशीलता यात्राबारे विमर्श हुने बताए ।