काठमाडौं । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतको बैठकले भोलि मंगलबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाकाअनुसार आजको बैठकमा भोलि बोलाइएको समितिको बैठकको एजेन्डाबारे छलफल भएको हो ।
बर्तौलाका अनुसार आजको बैठकमा यो महिनासम्म चल्ने संसद् बैठकको क्यालेन्डर पनि तय गरिएको छ । आगामी माघ १८ गते संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।
उनका अनुसार बैठकको पहिलो दिन अध्यादेशहरू पेस हुनेछ । त्यसपछि माघ २२, २३ र २४ गते लगातार संसद् बैठक बस्नेछ । ‘२२ गते अध्यादेशहरू निर्णयार्थ पेस गरिनेछ,’ बर्तौलाले भने ।
त्यसपछि माघ २५,२६ र २७ गते संसदीय समितिको बैठकहरू बस्न समय दिइने बर्तौलाले बताए । यसपछि माघ २९ र ३० गते पुनः संसद् बैठक बस्ने उनको भनाई छ ।
मुख्य सचेतक बर्तौलाका अनुसार विधेयक अधिवेशनको प्रारम्भमा सबै पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने वातावरण तयार गर्ने विषयमा पनि छलफल भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी गरिसकेकाले प्रमुख प्रतिपक्षी दल लगायत शीर्ष नेताहरूलाई पनि सम्बोधन गराउने तयारी गरिएको उनले जानकारी दिए ।