काठमाडौं । नेपाल सरकार राष्ट्रिय योजना आयाेगले प्रदेश सरकार र स्थानीय तहमा आर्थिक बर्ष. २०८२/८३ का लागि सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदान अन्तर्गत कार्यक्रमका लागि प्रस्ताव माग गरेकाे छ ।
याेजना आयाेगले आर्थिक बर्ष २०८२/०८३ मा सङ्घीय समपूरक अनुदान तथा सङ्घीय विशेष अनुदान अन्तर्गत कार्यान्वयन हुने आयोजना वा कार्यक्रमको लागि प्रस्तावसहित विवरण तयार गरी २०८१ फाल्गुण १५ भित्र राष्ट्रिय योजना आयोगकाे विद्युतीय प्रणालीमार्फत आवेदन पेश गर्न अाब्हान गरेकाे छ । आयाेगले प्रदेश सरकार तथा स्थानीय तहसँग आवेदन माग गरेकाे हाे ।
प्रदेश सरकार र स्थानिय तहले प्रस्ताव पेश गर्दा ‘समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०८१’ र ‘विशेष अनुदान सम्बन्धी कार्यविधि, २०८१’ बमोजिम आयोजना वा कार्यक्रमको तोकिए अनुसारको विवरण सहित आवश्यकता र औचित्य पुष्टि हुने गरी सम्बन्धित अनुदान अन्तर्गत प्रस्ताव गर्न सकिने प्रमुख क्षेत्र, कार्यक्रम, आधार, बजेट सीमा तथा संख्या बमोजिम पेश गर्न भनेकाे छ ।
आयोजना वा कार्यक्रमको प्रस्ताव कार्यविधिमा तोकिएअनुसार कानूनतः जिम्मेवारप्राप्त पदाधिकारीबाट शर्त पूरा भएको प्रमाणिकरण फारम भरी प्रदेशको हकमा सम्बन्धित प्रदेश नीति / योजना आयोगको प्राथमिकीकरण सहितको सिफारिसमा प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णय र स्थानीय तहको हकमा प्राथमिकीकरण सहितको कार्यपालिकाको निर्णय (उपस्थिति सहित) समेत पेश गर्नु पर्नेछ । आगामी आ.व. का लागि यसअघि सङ्घीय समपूरक तथा विशेष अनुदान प्राप्त गरी कार्यान्वयनमा गएका र सम्पन्न हुन बाँकी रहेका क्रमागत आयोजनाहरुलाई पहिलो प्राथमिकता दिई साविककै कार्यविधिको व्यवस्था बमोजिम पेश गर्न भनेकाे छ । आयोजना वा कार्यक्रम प्रस्ताव अनलाईन प्रणालीमा प्रविष्ट गर्न सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहका लागि लग-इन गर्ने विवरणहरू आयोगबाट यस अगाडि नै उपलब्ध गराइसकेकाे आयाेगले उल्लेख गरेकाे छ । कुनै कारणवश उपलब्ध हुन नसकेको खण्डमा आयोगको ईमेल ठेगानामा आधिकारिक पत्राचारमार्फत पुनः प्राप्त गर्न सकिने आयाेगले जनाएकाे छ ।
आयोजना वा कार्यक्रम प्रस्ताव सम्बन्धी शर्त, आवश्यक कागजात, सूचना तथा फाईलहरु आयोगको वेबसाईट तथा मार्फत पाईने छ । अद्यावधिक जानकारी आयोगको वेबसाईट मार्फत उपलब्ध हुने जनाईएकाे छ ।