काठमाडौं । नबिल बैंकका सिनियर डिपुटी सीईओ मनोज ज्ञवालीले बैंकहरूले सुरुवाती अवस्थामै स्टार्टअपमा लगानी नगर्ने बताएका छन्।
नेपाली कांग्रेस उद्यमशीलता तथा साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा बुधबारदेखि सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा उनले स्टार्टअप व्यवसायहरू असफल हुने जोखिम उच्च भएकाले बैंकहरू यस्तो क्षेत्रमा लगानी गर्न नचाहने स्पष्ट पारे।
‘नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण’ विषयक प्यानल छलफलमा बोल्दै ज्ञवालीले विश्वभर करिब ९० देखि ९५ प्रतिशत स्टार्टअप असफल हुने तथ्यांक प्रस्तुत गर्दै स्टार्टअपहरू शुरुवाती चरणमै डुब्ने सम्भावना बढी हुने बताए।
उनले स्टार्टअपका लागि बैंकहरूभन्दा सरकारी स्रोतहरूको खोजी गर्न सुझाव दिए। ‘यदि स्टार्टअप सुरु गर्न चाहनुहुन्छ भने, पहिले आफ्नै सञ्चित रकम प्रयोग गर्नुहोस्। त्यसले नपुग्दा परिवारका सदस्यहरूबाट सहयोग लिनुस्। अझै आवश्यक परे भेन्चर क्यापिटलतर्फ जानुस्। त्यसपछि मात्र सरकारी सहायता खोज्नुपर्छ। यदि तपाईंको स्टार्टअप यसरी वृद्धि हुन थाल्यो भने, बैंकहरू आफैं तपाईंको पछि लाग्न आउँछन्।’ उनले भने।