काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक तथा व्यवसायिक वातावरण सुधार एवं सुशासन प्रर्वद्धन गर्ने उद्देश्यले जारी अध्यादेशले मुलुकका ३० जति कानूनहरुमा औद्योगिक लगानी व्यवसाय सहजीकरण एवं विदेशी विनिमय परिचालनमा रहेका समस्याहरुलाई सम्वोधन गर्ने प्रयास गरेको बताएका छन् ।
नयाँ कानुनले नेपालको अर्थतन्त्र, उदार, बजारमुखी र प्रतिस्पर्धी बनाउने दिशामा निर्देशित भएकाले यसले समस्त लगानीकर्ताहरुलाई उत्साहित बनाएको उनले बताए । कानून र कार्यविधी एवं नियमावली पनि छिट्टै बन्ने अपेक्षा व्यक्ति गरे ।
अध्यादेशमा उल्लेखित व्यवस्था अनुसार रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताको प्रस्ताव ७ दिनमै स्वीकृत हुने सहजताले ती लगानीकर्ता माझ सकारात्मक सन्देश जाने देखिएको उनले बताए ।
लगानी सम्मेलनका क्रममा विदेशी लगानीकर्ताका लागि हामीले उठाएको इजी इन्ट्री र इजी एक्जिटको विषय सम्वोधन हुन गएको उनको भनाइ छ । यस्तै सूचना प्रविधि उद्योगले विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने अध्यादेशमा उल्लेखित प्रावधान आईटी क्षेत्रको विकासका लागि काशेढुङ्गा सावित हुने चेम्बर अफ कमर्सको ठहर छ ।
‘चेम्बर एक्स्पोमा यो वर्ष सफ्टवेयर एण्ड एआई प्रोजेक्ट एक आर्कषणको केन्द्रको रुपमा रहेको छ । नेपाललाई अव आईटीका लागि अव विश्वकै उत्कृष्ट गन्तव्य बनाउन जरुरी देखिएको छ । कम लागतको जनशक्ति, डेटा र एआई केन्द्रहरुका लागि आवश्यक पर्ने पर्याप्त विद्युत आपूर्ति आदिले नेपालमा आईटी क्षेत्रको विकासमा ठूलो सम्भावना रहेको देखाएको छ । साथै आईटी केन्द्रहरुको स्थापनाका लागि आवश्यक तापक्रम अनुकुलको जलवायु नेपालको रहेकाले उपरोक्त केन्द्रहरुको स्थापनामा थप सहजता दिनेछ,’ अग्रवालले भने ।
यस्तै मुलुकमा सूचना प्रविधि जन्य उत्पादनहरुलाई भारत र चीनजस्ता छिमेकी ठूला बजारहरुसम्म पु¥याउन सकिने प्रचुर सम्भावना छ । मुलुकभित्र खपत हुने सफ्टवेयरहरुको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा मात्र चयन गरिनुपर्दछ । नेपालको आन्तरिक खपतका लागि प्रयोग हुने सफ्ट्वेयर, एआई लगायत अन्य सूचना प्रविधीजन्य बस्तुहरुको उत्पादनका लागि आन्तरिक कम्पनीलाई प्रोत्साहन गर्नु पर्नेमा उनले जोड दिए ।
उनले भने, ‘क्लाउड अवसरको आर्कषणतर्फ विभिन्न राष्ट्रहरु ढल्किन थालेका छन् । नेपालको उच्च दक्षताका सफ्टवेयर र एआई स्नातक जनशक्ती उत्पादन गरी थप रोजगारी सिर्जना गर्न ध्यान दिनुपर्दछ । किनभने क्लाउडको क्षेत्रमा लाखौं रोजगारी उपलव्ध हुने सम्भावना छ ।’
सरकार, कर्पोरेट सेक्टर लगायत सरोकारवाला सवैले सूचना तथा प्रविधिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न एक्स्पोले सकारात्मक भूमिका निर्वाह गर्नेमा उनी विश्वस्त देखिए । प्रविधिको प्रयोगविना मुलुकको समृद्धिको परिकल्पना समेत गर्न सकिदैन । रोजगारीको सिर्जना तथा मुलुकको भविश्यका लागि पनि हामीले यस क्षेत्रमा काम गर्नुपर्दछ भन्ने सन्देश प्रवाह गर्न पनि एक्स्पोमा सूचना तथा प्रविधिको क्षेत्रलाई प्राथमिकतामा राखिएको उनले बताए ।
सरकारले आर्थिक कुटनीतिलाई थप सक्रिय पारी विदेशमा रहेका नेपाली कुटनीतिक नियोगहरु मार्फत समय समयमा नेपाली वस्तुहरुको व्यापार मेलाको आयोजना गरेमा निर्यात, वैदेशिक लगानी प्रवद्र्धन एवं प्रविधि हस्तान्तरण आदिमा उल्लेखनीय टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
विगतमा झैं यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तुहरु, हस्तकला, लत्ता कपडाका सामानहरु, अटोमोबाइल, इलेक्ट्रोनिक्स, होमएप्लायन्स, लजेस्टिक, टेक्सटाइल, फर्निचर, गार्मेन्ट, लेदर गुड्स, ज्वलरी आइटम्स, कसमेटिक्स, फुड एण्ड डेरी प्रोडक्स लगायत सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ ।
एक्स्पोमा नेपालमै उत्पादित घरेलु तथा हस्तकलाका सामाग्रीहरु लगायत जडीवुटी, आयुर्वेदिक जन्य बस्तुहरु पनि प्रर्दशनीमा राखिएका छन् । यस मेलामा १ सय २५ भन्दा बढि स्टलहरू रहने छन् । जस्मा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहेको छ । नेपाल लगायत भारत, पाकिस्तान, थाईल्याण्ड, दक्षिण कोरिया, चीन, बङ्गलादेश, तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहेका छन् ।
चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्व २३ अर्व व्यापार घाटा भएको तथ्याङक आएको छ । मुलुकको अर्थतन्त्र आयातमुखी हुन पुगेको छ । मुलुकलाई आत्मनिर्भर बनाउन अर्थतन्त्रका हरेक क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्नु अपरिहार्य छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनको लागि पनि यो कार्य आवश्यक छ ।