काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका घोषित सबै कार्यक्रम स्थगित गरेको छ । महासंघका प्रतिनिधि र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको वार्ता सकारात्मक भएको भन्दै महासंघले घोषणा गरेका सबै आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेको जनाएको छ ।
महासंघले गत पुष २७मा राष्ट्रिय भेला आ गरेर १४ बुँदे मागसहित आन्दोलनको घोषणा गरेको थियो।
महासघले घोषणा गरेका संघर्षका कार्यक्रममा माघ १५ को अल्टिमेटम सहित प्रदेश निर्माण व्यवसायी महासंघहरूले सम्बन्धित् प्रदेशका मुख्यमन्त्रीहरू तथा जिल्ला निर्माण व्यवसायी संघहरूले सम्बन्धित् जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू समक्ष ज्ञापन पत्र पेश गर्ने तथा केन्द्रमा महासंघले प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, मन्त्रीज्यूहरू, प्रमुख राजनीतिक दलका नेताहरू, विभिन्न समितिका सभापतिहरू लगायतलाई ज्ञापन पत्र बुझाएको थियो ।
ज्ञापन पत्र बुझाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र महासंघ प्रतिनिधिमण्डलबीच छलफलमा महासंघका माग सम्बोधन गर्नका लागि प्रधानमन्त्रीले कार्यदल गठन गर्न निर्देशन दिएर छलफल सकारात्मक ढंगले टुङ्गिएकाले महासंघले तत्कालका लागि सम्पुर्ण संगर्षका कार्यक्रम स्थगित गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिएका छन् ।