CLI

विदेशी विनिमय सञ्चिति सवा २३ खर्ब, १७ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं । मुलुकको विदेशी विनिमय सञ्चिति पुस मसान्तसम्म २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । गत आवको असार मसान्तको तुलनमा १३.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिन्छ ।

गत आवको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई २० खर्ब ७२ अर्ब ३४ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ पुस मसान्तमा २७ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब ५० करोड कायम भएको छ । २०८१ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता 

आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ४०.६ प्रतिशत, १२०.३ प्रतिशत र ३२.० प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

Leave Your Comment

Related News