ललितपुर । प्रतिनिधिसभा सदस्य एवम् पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले ललितपुर जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित राख्न नहुने बताएका छन् । ललितपुरको दक्षिणी भेग पनि पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुनसक्ने उनले बताए ।
माझखण्ड पर्यटन परियोजनाअन्तर्गत डेस्टिनेसन माझखण्ड प्रालिले सञ्चालनमा ल्याउन लागेको छपेली माझखण्ड केवलकारको सोमबार शिलान्यास गर्दै उनले केवलकारले दक्षिणी ललितपुरको पर्यटन प्रवर्द्धन गर्ने उल्लेख गरे । उक्त योजनालाई बुद्धिमत्ताका साथ अगाडि बढाउन पनि उनले सुझाव दिए । यस क्षेत्रको जनजीविका, रहनसहन, कृषि उद्योग र पशुपालन नै पर्यटनको आकर्षणको केन्द्र बनाउन सकिने उनको भनाइ छ । ‘पर्यटनमा यहाँको सम्भावना प्रवल छ, सबै राजनीतिक दल, जनप्रतिनिधि प्रतिबद्धता भएर व्यावसायिकरूपमा बजारीकरण गर्नुपर्छ’, उनले भने ।
कार्यक्रममा उनले अर्को वर्षसम्म कान्ति लोकपथ पूर्णरूपमा सञ्चालनमा आउने बताउँदै यहाँका सात वटा पहिरोको जोखिम न्यूनीकरण गर्न जाइकालगायतको सक्रियतामा सर्भे भइरहेको जानकारी दिए । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य मधुसूदन पौडेलले पर्यटन प्रवर्द्धनका लागि सुरु गरिएको उक्त योजनाको पूर्ण सफलताको कामना गरे । नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य एवम् ललितपुर इन्चार्ज हरि दाहालले काम गर्न खोज्दा धेरै दुःख र अल्झनहरू आउन सक्ने बताउँदै ललितपुरको रमणीय ठाउँको मुहार फेर्नमा महत्त्वपूर्ण काम हुने विश्वास व्यक्त गरे ।
डेस्टिनेसन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गाउँपालिकासँग समन्वय गरेर काम गर्ने बताए । बागमती गाउँपालिकाको वडा नं. ३ बाट वडा नं ५ माझखण्ड जोड्ने केवलकारको दूरी दुई दशमलव आठ किलोमिटर रहने छ । कम्पनीका अनुसार एक अर्ब २० करोड लगानीमा केवलकारका साथै होटल, फनपार्कलगायत सञ्चालन हुने जनाइएको छ । आगामी एक बर्ष छ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ ।
यो केबुलकार नेपालकै पहिलो युरो स्ट्यान्डर्ड सर्टिफाइड हुने पनि कम्पनीले जनाएको छ । केबुलकारको टप स्टेसन माझखण्ड एक हजार सात सय ८६ मिटर उचाइमा रहेको छ । जहाँबाट हिमाल, पहाड र तराई मधेशको वीरगञ्जसम्म दृश्य एकैसाथ अवलोकन गर्न सकिन्छ । माझखण्डभन्दा करिब पाँच किमीमाथि रमितेबाट सगरमाथाको रेञ्ज, तराई मधेश र काठमाडौं उपत्यका समेत एकैस्थलबाट लोभलाग्दो दृश्यावलोकन गर्न सकिन्छ । रमिते अति नै दुर्लभ भूस्थल हो ।
माझखण्ड केबलकारले नेचर, कल्चर र एडभेन्चरको संयोजनसहित पर्यटक र तीर्थयात्रीहरूका लागि एक अद्वितीय प्याकेज सिर्जना गर्नेछ । महारुद्रेश्वर महादेव, विश्वकै ठूलो थांका (७०/६० मिटर) प्रदर्शनस्थल तथा बौद्ध गुम्बा र बिहारसहितको धार्मिक धाम पनि रहेको हुँदा पर्यटन प्रवद्र्धनका लागि केबुलकार निर्माण थालिएको कम्पनी सञ्चालक डोलकेशर दाहालले बताए ।