काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले मोबाइल नेटवर्क नभए पनि फोनमा कुराकानी गर्न सकिने सेवा शुरु गरेको छ । नेपाल टेलिकमको २१ औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले भीओवाईफाई सेवाको व्यावसायिक रुपमा उद्घाटन गरेसँगै यो सेवा सञ्चालनमा आएको हो ।
यस प्रविधि मार्फत वीओवाईफाई सपोर्ट गर्ने र भीओएलटीई सेवा एक्टिभ भएको जुनसुकै मोबाइल फोनबाट देश भित्र तथा बाहिरबाट वाईफाई नेटवर्क मार्फत नेपाल टेलिकमकै मोबाइल नम्बरबाट भ्वाइस तथा एसएमएस सेवा प्रयोग गर्न सकिन्छ ।
हाललाई नेपाल भित्रबाट यो सेवा प्रयोग गर्दा साविक प्याकेजको भ्वाइस/एसएमएस रिसोर्स तथा पे एस यू गो बराबर सेवा शुल्क लाग्नेछ भने नेपाल बाहिरबाट सेवा प्रयोग गर्दा इनकमिङ निःशुल्क तथा आउटगोइङ कलको ३ रुपैयाँ प्रति मिनेट शुल्क लाग्नेछ ।
भीओवाईफाई भोल्टेका लागि पूरक प्रविधि भ्वाइस ओभर वाईफाई कलिङ सेवा हो। यसले वाईफाई नेटवर्क मार्फत आईपीमा डेलिभर गरिएको प्याकेट भ्वाइस सेवा प्रदान गर्न आईएमएस प्रविधिको प्रयोग गर्छ।
यो भीओवाईफाई सेवा उपयोग गर्नका लागि वाईफाईको पहुँच र भीओवाईफाई सपोर्ट गर्ने स्मार्टफोन आवश्यक पर्छ।
यो सेवा उपयोग गर्नका लागि अतिरिक्त एप डाउनलोड गर्नु पर्दैन। मोबाइल फोनमा वाईफाई कलिङ अन गरेपछि सेवा सक्रिय हुन्छ। सेवाका लागि वाईफाई कलिङ सुविधा रहेका समार्टफोनलाई वाईफाई नेटवर्कमा कनेक्ट गर्नुपर्छ। यो सुविधाबाट कमजोर नेटवर्क रहेको स्थानबाट वाईफाईको माध्यमबाट गुणस्तरिय भ्वाइस कल गर्न सकिन्छ।
वाईफाईको सम्पर्कमा रहेसम्म भीओवाईफाई प्रविधिमा आधारित रहेर भ्वाइस कल गर्न सकिन्छ। वाईफाईको नेटवर्कबाट टाढा हुँदा भोल्टे अन गरिएको अवस्थामा फोन काटिँदैन। मोबाइल नेटवर्क कमजोर रहेका स्थानहरुमा भीओवाईफाई सेवा उपयोगी हुने जानकारहरु बताउँछन् ।
यसबाट सेवाग्राहीले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै सेवा प्रदायकहरुले पनि आफ्नो सेवाको विश्वसनियता कायम राख्न सक्छन् ।