CLI

ब्याट्री मर्मत सेवा सुरु गर्ने तयारीमा बीवाईडी

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले देशमै ब्याट्री मर्मत केन्द्र ९रिपेरिङ सेन्टर० सञ्चालनमा ल्याउने भएको छ। कम्पनीका बिक्री पछिका प्रमुख सुशील तण्डुल्कारले बीवाईडीले नेपालमै ब्याट्री मर्मत केन्द्र स्थापना गर्न आवश्यक तयारी गरिरहेको जानकारी दिए ।

नेपालमा हालसम्म यस्तो सुविधा उपलब्ध नहुँदा, साना समस्याका कारण समेत पूरा ब्याट्री प्रतिस्थापन गर्नुपर्ने बाध्यता रहन्थ्यो। तर, मर्मत केन्द्र सञ्चालनमा आएपछि, ब्याट्रीमा देखिने साना समस्या सजिलै समाधान गर्न सकिने कम्पनीले विश्वास व्यक्त गरेको छ।

यद्यपि, ब्याट्री मर्मत केन्द्र कहिलेदेखि सञ्चालनमा आउने भन्ने विषयमा कम्पनीले कुनै निश्चित मिति सार्वजनिक गरेको छैन। तर, आवश्यक पूर्वाधार तयार पार्ने कार्य तीव्र रुपमा भइरहेको तण्डुल्कारले जानकारी दिए।

बीवाईडीका गाडीहरूमा ‘ई–प्लेटफर्म ३.०’ प्रविधिमा आधारित लिथियम–आयन ब्लेड ब्याट्री प्रयोग हुने गर्छ। कम्पनीका अनुसार, गाडीको भेरियन्टअनुसार यी ब्याट्रीहरूमा १२० भन्दा बढी सेलहरू रहन्छन्।

साइमेक्स इंकले सन् २०१६ देखि नेपालमा बीवाईडीका इलेक्ट्रिक गाडीहरू बिक्री गर्दै आएको छ। हालसम्म कम्पनीले ६ हजार यूनिट भन्दा बढी ईभी नेपालमा बिक्री गरिसकेको छ। नेपाली बजारमा बीवाईडीका ९ भेरियन्टका गाडीहरू उपलब्ध छन्।

कम्पनीका अनुसार, अहिलेसम्म १० वटा मात्र ईभीको ब्याट्री पूर्ण रूपमा परिवर्तन गर्नु परेको छ। बीवाईडीले आफ्नो गाडीका ब्याट्रीहरूमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी उपलब्ध गराउँदै आएको छ।

‘हाम्रा ब्याट्रीहरू उच्च प्रदर्शनका छन्। अहिलेसम्म दुर्घटनाका कारण मात्र ब्याट्री परिवर्तन गर्नुपरेको छ,’ तण्डुल्कारले भने।

गत असोजमा आएको बाढीपहिरोका कारण करिब ३५ वटा बीवाईडी ईभी ढुवानीमा परेका थिए। तर, ती गाडीहरूको ब्याट्रीमा कुनै समस्या नदेखिएको कम्पनीले जानकारी दिएको छ। तथापि, एउटा ईभीमा ब्याट्रीमा प्वाल परेको कारण उक्त ब्याट्री प्रतिस्थापन गरिएको कम्पनीले जनाएको छ।

नेपालमै ब्याट्री मर्मत केन्द्र सञ्चालनमा आउँदा बीवाईडीका ग्राहकहरूलाई थप सहजता हुने विश्वास गरिएको छ ।

Leave Your Comment

Related News