CLI

नेपालको बैंकिङ क्षेत्र सुरक्षित, भ्रामक सूचनाहरूप्रति वित्तीय संघहरुको ध्यानाकर्षण

काठमाडौं । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै हाल बैंक तथा वित्तीय क्षेत्रलाई लिएर सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

वित्तीय संघहरुले जारी गरेको विज्ञप्तिमा नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी तथा तोकिएको नीति–नियमहरूको परिधिभित्र रही बैंक तथा वित्तीय संस्थाहरू सञ्चालन भइरहेका कारण बैंकिङ क्षेत्र पारदर्शी र सुरक्षित रहेको प्रष्ट पारिएको छ । अन्तर्राष्ट्रिय बैंकिङ मानक (बासेल) तथा नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थाहरूको पालना गर्दै आएको बैंकिङ क्षेत्र उदाहरणीय रहेको समेत उल्लेख गरिएको छ ।

विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरूको जोखिम बहन क्षमतामा कुनै समस्या नरहेको र यी संस्थाहरू आजको अवस्थामा सुरक्षित रहेको पुनः पुष्टि गरिएको छ । साथै, केही अराजक गतिविधिहरूले बैंकिङ्ग क्षेत्रमा खलल पार्न खोजिरहेको र सामाजिक सञ्जालमार्फत केही बैंक तथा वित्तीय संस्थाका नाम दुरुपयोग गर्दै गलत अभिव्यक्तिहरू सम्प्रेषण गरिरहेको प्रति पनि सचेत रहन आग्रह गरिएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार व्यक्तिगत बचत तथा मुद्दती खातामा रहेको पाँच लाख रुपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको ‘निक्षेप तथा कर्जा सुरक्षण कोष’मार्फत सुरक्षण गरिएकाले निक्षेपकर्ताहरूलाई कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको स्पष्ट पारिएको छ ।

साथै, आम नागरिकलाई त्रसित पार्ने, समाजमा अशान्ति सिर्जना गर्ने, बैंकिङ सेवाबाट वञ्चित गराउने तथा गलत र आपत्तिजनक अभिव्यक्ति दिने कार्यहरू कानूनी दायरामा ल्याउन सम्बन्धित सरकारी निकायलाई आग्रह गरिएको छ ।

संघहरूले बैंकिङ क्षेत्रप्रति विश्वास, सद्भाव र सहयोगका लागि ग्राहक वर्ग तथा आम जनमानसलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सेवा सुविधालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave Your Comment

Related News