CLI

मर्चेन्ट बैंकले आईपीओ जारी गर्न पाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साढे ६ वर्षदेखि रोकिएको मर्चेन्ट बैंकिङ सेवा अन्तर्गत निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रेशनको इजाजत दिने प्रक्रिया पुनः सुरु गरेको छ।

बोर्डले बुधबार एक विज्ञप्ति जारी गर्दै ‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४’ अनुसार मर्चेन्ट बैंकिङ व्यवसाय अन्तर्गतको निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्ने अनुमतिपत्र पुनः प्रदान गर्ने जनाएको छ।

बोर्डका अनुसार नियमावली अनुरूप अनुमतिपत्र प्राप्त संस्थाले सार्वजनिक निष्कासन गर्न चाहेमा, कम्तीमा १० वर्षको व्यवसायिक अनुभव र न्यूनतम १ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गरेको अवस्थामा, आफ्नो चुक्ता पुँजीको ३० प्रतिशतभन्दा कम नहुने गरी आईपीओ जारी गर्न सक्ने व्यवस्था गरिएको छ।

धितोपत्र बोर्डले २०७५ साउन ८ गतेदेखि मर्चेन्ट बैंकिङ सेवा अन्तर्गत निष्कासन तथा बिक्री प्रबन्धक तथा शेयर रजिष्ट्रेशनको अनुमति दिन रोक लगाएको थियो। अब उक्त रोक हटेसँगै नयाँ मर्चेन्ट बैंकरहरूलाई पनि अवसर प्राप्त हुने भएको छ।

हाल नेपालमा ३१ वटा मर्चेन्ट बैंकरहरू सञ्चालनमा छन्, जसमध्ये १३ वटाले मात्र निष्कासन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रेशन सेवाको अनुमति पाएका थिए। हाल १ अर्बभन्दा बढी चुक्ता पुँजी रहेको मर्चेन्ट बैंकरमा प्रभु क्यापिटल मात्र छ ।अब अन्य मर्चेन्ट बैंकरहरूले पनि पुँजी वृद्धि गरेमा उक्त सेवा प्रदान गर्ने अवसर पाउनेछन्।

Leave Your Comment

Related News