काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा माघ २८ गते होटल भिष्वा, वीरगन्ज, पर्सामा सम्पन्न भएको छ ।
यस अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।
साधारण सभाले आव २०८०/८१ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको जम्मा २१.०५% ले हुन आउने रकम १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ रुपैयाँ लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर सहित) प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । जसमा १०% बोनस शेयर र ११.०५% नगद लाभांश रहेको छ ।
२०८१ असोज मसान्त सम्ममा कम्पनीको लगानी २१५ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २०८ अर्ब रुपैयाँ र शेयरधनी कोष १२ अर्ब बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९५ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म २८८ अर्ब रुपैया बीमाशुल्क आर्जन गरेको छ भने ८४ अर्ब जम्मा दावी भुक्तानी गरेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।