काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तिय संस्था र ग्राहकलाई ब्याजदर र आम्दानीबीच तालमेल हुनेगरी कर्जा कारोबार गर्न अनुरोध गरेको छ । नेपाल राष्ट्र बैङ्कले बित्तिय जागरणको लागि एक सुचना प्रकाशित गर्दै यस्तो व्यावस्था रहेको जनाएको हो ।
नेपाल राष्ट्र बैङ्कका अनुसार बैंक तथा वित्तीय संस्थालाई कर्जा उपभोग गरेबापत तिर्नुपर्ने ब्याज रकम र आफ्नो आयबीचमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्ने भएकाले नियमित र निश्चित आय भएका व्यक्तिहरूलाई उपयुक्त हुनेगरी बैंक तथा वित्तीय संस्थाले स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुनेगरी स्थिर ब्याजदर (Fixed interest rate ) निर्धारण गरि लगानी गर्नुपर्ने राष्ट्र बैङ्कले उल्लेख गरेको छ । नियमित आम्दानी भएका व्यक्तिले स्थिर ब्याजदरमा कर्जा उपभोग गर्दा कर्जा अवधिभर ब्याजदर परिवर्तन हुँदैन र निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिन्छ ।
तर, ग्राहक स्वयम्ले परिवर्तनीय ब्याजदर (adjustable interest rate) मा नै कर्जा लिन चाहेमा भने ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न सकिने व्यवस्था रहेको नेपाल राष्ट्र बैङ्कले जनबाएको छ ।