काठमाडौं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सम्माननीय प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् ।
सर्वोच्च अदालतमा वुधबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश राउतले उपाध्यायलाई पद तथा गोपनीयताको शथप गराएका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।
शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रारद्वय विमल पौडेल र भद्रकाली पोखरेल, सह–रजिष्ट्रारहरू, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो ।
सरकारले ६ महिनामै अर्थ मन्त्रालयको सचिव परिवर्तन गरेको हो । गत सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको थियो । उपाध्याय यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव थिए । हालका अर्थ सचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा पठाइएको छ ।