स्थानीय अनुकुलन कार्ययोजना सम्बन्धी क्षेत्रीय कार्यशाला काठमाडौंमा सुरु

काठमाडौं । दक्षिण एशियामा स्थानीय नेतृत्वमा आधारित अनुकुलनको स्तरोन्नतीमा देखा परेका चुनौति, असल अभ्यास तथा अवसर विषयक कार्यशाला काठमाडौंमा सुरु भएको छ ।

वन तथा वातावरण मन्त्रालयको समन्वय तथा द ग्लोवल सेन्टर अन एडप्टेशन र डि.सि.ए.को आयोजनामा सुरु भएको उक्त कार्यशालाको मुख्य उद्धेश्य दक्षिण एशिया क्षेत्रमा स्थानीय अनुकुलन योजनासँग सम्बन्धित उपलब्ध निति–नियम र तिनको अभ्यासको अनुभव साटासाट गर्नु रहेको छ ।

यसैगरि दक्षिण एशिया क्षेत्रमा एल।एल।ए।का लागि उपलब्ध संस्थागत तथा आर्थिक सहायताका बारेमा सरोकारवालाहरुको बिचमा समान धारणाको विकास गर्ने र भविष्यमा अनुकुलन योजनाको स्तरबृद्धीका उपायहरु खोजी गर्ने उद्धेश्यले कार्यशाला आयोजना गरिएको आयोजकको भनाइ छ ।
कार्यशालामा स्थानीय अनुकुलन योजनाले मुख्य जोखिमयुक्त क्षेत्रहरुमा सञ्चालन गरेका कार्यक्रमहरु खासगरी खाद्य सुरक्षा, पानीको स्रोत व्यवस्थापन, शहरी विकास, जलवायू वित्त जस्ता सवालहरुमा चरणबद्ध रुपमा छलफल हुनेछ ।

कार्यशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै द ग्लोबल सेन्टर अन एडप्टेशन (जिसिए) का ग्लोबल लिड अञ्जु शर्माले भनिन् “ यो कार्यशालाले दक्षिण एशियाली क्षेत्रका स्थानीय नेतृत्वमा आधारित अनुकूलनका उत्कृष्ट अभ्यासहरु साझा गर्ने र ती अभ्यासहरुलाई विस्तार गर्नका लागि अवसरहरु पहिचान गरी संवेदनशील समुदायलाई तत्काल सहयोग पुर्याउने कुरामा जोड दिनु पर्ने छ” ।

कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वन तथा वातावरण मन्त्रालयका उपसचिव सुमन सुवेदीले बढ्दो जलवायु परिर्वतनको असरसँग जुध्नका लागि स्थानीय अनुकुलन योजना र कार्यक्रम थप प्रभावकारी बनाउनु पर्ने र त्यसका लागि कार्यशालाले ठोस सुझावहरु तयार गर्न सक्ने विश्वास व्यक्त गरे । जलवायु परिर्वतनबाट सबैभन्दा प्रभावित हुन सक्ने क्षेत्रमा दक्षिण एशिया र नेपाल अझै बढि संवेदनशील भएकाले यस्ता कार्यशालाहरु अन्तरदेशिय साझेदारी कार्यक्रम, निति नियम सुधार, कार्यन्वयन तथा स्रोत व्यवस्थापनका लागि महत्वपुर्ण फोरम हुने उनको भनाइ छ ।”
डिसिएका राष्ट्रिय निर्देशक सम्झना विष्टले जलवायु परिर्वतन लगायतका विपद् जोखिमका हिसावले सबैभन्दा बढि स्थानीय समुदाय प्रभावित हुने भएकाले स्थानीय समुदायको विपद् उत्थानशिलता बढाउन आवश्यक भएको बताईन् । यसका लागि स्थानीय समुदाय केन्द्रीत कार्यक्रमहरुमा जोड दिनुपर्ने उनको भनाइ छ ।
एफसीडिओका जलवायु उत्थानशिलता सल्लाहकार भिन्सेट गेनीले यो कार्यशालामा विभिन्न देशका सहकर्मीहरुले स्थानीय नेतृत्वमा आधारित अनुकुलनका अभ्यासहरु साटासाट हुने बताए । कार्यशालामा “स्थानीय अनुकुलन अभ्यासका सिकाइहरु” नामक पुस्तक समेत विमोचन गरिएको छ ।
नेपालसँगैं दक्षिण एशियाका अन्य पाँच राष्ट्रहरु भारत, पाकिस्तान, भुटान, श्रीलंका र बंगालादेशका प्रतिनिधिहरु तथा यस क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहने कार्यशाला तिन दिनसम्म चल्नेछ । कर्याशालामा स्थानीय अनुकुलन कार्यक्रमसँग सम्बन्धित विभिन्न आठ वटा सेसनहरुमा समुहगत छलफल हुनेछ । यी छलफलहरु अनुभव आदान प्रदानका साथै नयाँ रणनिति र योजना तयार गर्न समेत उपयोगी हुने अपेक्षा गरिएको छ ।

भौगोलिक परिवेश तथा सामाजिक आर्थिक परिवेशका हिसाबले दक्षिण एशिया विश्वमै जलवायु परिर्वतन सिर्जित जोखिमका हिसावले संवेदनशिल मानिन्छ । दक्षिण एसियामा भौतिकीय कारकमा विस्तृत तटीय क्षेत्र र कम्जोर पहाडीय भूगोल पर्नुका साथै सामाजिक तथा आर्थिक कारकमा उच्च जनसंख्या घनत्व, गरिबी, असमावता, द्रुत शहरीकरण र उद्योगीकरण समावेश छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार