काठमाडौं । नेपालका दुई प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती र आइएमई पे मर्जरमा जाने भएका छन्। आइतबार दुई कम्पनीबीच प्रारम्भिक सम्झौता भएसँगै मर्जर प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको हो। मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम ‘आइएमई खल्ती’ रहनेछ।
नेपालमा सञ्चालनमा रहेका डिजिटल वालेटहरूबीच यो पहिलो मर्जर हो। प्रारम्भिक सम्झौतापछि नियामक निकाय नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि प्रस्ताव पठाइएको छ। आवश्यक अनुमतिपछि औपचारिक मर्जर प्रक्रिया सम्पन्न हुनेछ।
हाल आइएमई पे को चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ भने खल्ती को चुक्ता पुँजी ५ करोड रुपैयाँ छ। आइएमई पेले विसं २०७४ असार ५ गते नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाइसेन्स प्राप्त गरेको थियो भने खल्तीले विसं २०७६ बैशाख २ गते इजाजतपत्र लिएको थियो।
आइएमई पेमा आइएमई ग्रुप को लगानी रहेको छ भने खल्तीमा अमित अग्रवाल, ध्रुव अधिकारी, अरविन्द शाह र मनिष मोदी सहित अन्य तीन जना लगानीकर्ता छन्।
नेपालमा हाल २६ वटा डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीहरू सञ्चालनमा रहेका छन्। बजार हिस्साको हिसाबले खल्ती ले २५ प्रतिशत र आइएमई पे ले १५ प्रतिशत हिस्सा ओगटेका छन्। डिजिटल भुक्तानी क्षेत्रको अग्रणी कम्पनी ईसेवा बाहेक अन्य अधिकांश वालेट कम्पनीहरू हाल घाटामा रहेको बताइन्छ।